मंजित कुमार राम,महोत्तरी- महोत्तरीको सोनमा गाउँपालिका–५, खैरबनीबाट गएराति ७ सय मिटर लामो ४ फेजको ‘एबीसी केबल’ (ABC Cable) चोरी भएको छ। पूर्व–पश्चिम हुलाकी राजमार्गसँगै रहेको सशस्त्र प्रहरी बेसक्याम्प खैरबनीको ठ्याक्कै अगाडिबाट कृषि बाटोका १४ वटा पोलको तार काटेर चोरी गरिएपछि त्यस क्षेत्रको कृषि विद्युतीकरण पूर्ण रूपमा अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय खैरबनीका प्रहरी इन्चार्ज कमल दाहाल भण्डारीले दिएको जानकारी अनुसार, विद्युतीकरण गरिएको उक्त कृषि बाटो भारतीय सीमा क्षेत्र भेढहियासँग जोडिएको छ। घटनालगत्तै भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग समेत समन्वय गरी तार तथा चोरीमा संलग्नहरूको खोजी कार्य तीव्र पारिएको इन्चार्ज भण्डारीले बताएका छन्।




सशस्त्र प्रहरीको बेसक्याम्प जस्तो संवेदनशील सुरक्षा निकायको ठीक अगाडिबाट यसरी ठूलो परिमाणमा तार चोरी हुनुले स्थानीय सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्नचिह्न खडा भएको स्थानीय जनप्रतिनिधिहरूको गुनासो छ।
यस क्षेत्रमा पछिल्लो समय विद्युतीय सामग्री चोरीका घटनाहरू डरमर्दो ढङ्गले बढ्दै गएका छन्। यसअघि गत आइतबार (भदौ ११ गते) मात्रै सोही गाउँपालिकाको वडा नं. २ र ६ बाट एकै रातमा दुईवटा ट्रान्सफर्मरसमेत चोरी भएका थिए। दिनप्रतिदिन ट्रान्सफर्मर, केबल र तार चोरीका घटना हुन थालेपछि यस क्षेत्रका किसान तथा स्थानीय बासिन्दाहरू चिन्तित बनेका छन्।





