जनकपुरधाम – जनकपुरधामस्थित महाराज सागर (दशरथ तलाउ) मा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मंगलबार महाराज सागरमा एक पुरुष डुबेको अवस्थामा फेला परेका हुन् ।



घटनालगत्तै प्रहरीले उद्धार गरी बाहिर निकाले पनि उनको मृत्यु भइसकेको थियो ।
मृतकको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
डीएसपी खनालका अनुसार मृतकको उमेर, ठेगाना तथा अन्य परिचय खुलाउने प्रयास भइरहेको छ ।
शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पहिचानका लागि राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले मृतकलाई चिन्ने वा उनको परिवारसँग सम्बन्धित व्यक्तिले जिल्ला प्रहरी कार्यालय धनुषा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गर्न आग्रह गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





