महोत्तरी -मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा गरिएको बजार अनुगमनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीले बजार बन्द गरेका छन्।
अनुगमनका क्रममा व्यवसायीलाई त्रसित बनाउने,धम्की दिने तथा आवश्यक प्रक्रिया पूरा नगरी जरिवाना गरिएको आरोप लगाउँदै व्यवसायीले विरोधस्वरूप बजार बन्द गरेका हुन्। व्यवसायीले उपभोक्ताको हित र बजार नियमनका लागि अनुगमन आवश्यक भए पनि त्यसका नाममा व्यवसायीलाई आतंकित पार्ने तथा अपमानजनक व्यवहार गर्ने कार्य स्वीकार्य नहुने बताएका छन्।



अनुगमनका क्रममा अपनाइएको कार्यशैलीप्रति आपत्ति जनाउँदै जलेश्वर उद्योग वाणिज्य सङ्घले व्यवसायीको मागप्रति ऐक्यबद्धता जनाएको छ। सङ्घले जिल्ला प्रशासन कार्यालय महोत्तरीमार्फत मधेश सरकारसमक्ष ज्ञापनपत्रसमेत बुझाएको छ।

जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीको नेतृत्वमा गएको व्यवसायीको टोलीले ज्ञापनपत्र बुझाउँदै बजार अनुगमनका क्रममा देखिएको कार्यशैलीप्रति आपत्ति जनाएको हो।
अध्यक्ष चौधरीले जलेश्वरका व्यवसायीले नेपाल सरकारले तोकेको कानुन तथा मापदण्डको पालना गर्दै व्यवसाय सञ्चालन गर्दै आएको दाबी गर्नुभयो। तर, अनुगमनका क्रममा व्यवसायीलाई त्रसित बनाउने र धम्की दिने शैली अपनाइएको भन्दै त्यसको विरोधमा बजार बन्द गर्नुपरेको उहाँले बताउनुभयो।
सङ्घले अनुगमनका क्रममा सम्बन्धित वस्तुको गुणस्तर परीक्षण नगरी गुणस्तरहीन भएको भन्दै सामान नष्ट गर्न लगाइएको, अनावश्यक रूपमा जरिवाना गरिएको तथा अनुगमनका क्रममा प्रश्न उठाउने वा आफ्नो धारणा राख्ने व्यवसायीलाई थुन्ने र मुद्दा चलाउनेसम्मको धम्की दिइएको आरोप लगाएको छ।

व्यवसायीले बजार अनुगमनलाई प्रतिशोध वा भय सिर्जना गर्ने माध्यम नबनाई उपभोक्ता हित संरक्षण तथा व्यवसाय नियमनमा केन्द्रित गर्न माग गरेका छन्। कुनै वस्तुको गुणस्तरमाथि प्रश्न उठेमा सम्बन्धित प्राविधिक तथा प्रयोगशालामार्फत आवश्यक परीक्षण गरेपछि मात्र कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने उनीहरूको माग छ।
सङ्घले व्यवसायीमाथि भएको भनिएको ज्यादतीको विरोधमा आफूहरू एकताबद्ध रहेको जनाउँदै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।
व्यवसायीले बजार अनुगमनका क्रममा कानुनी प्रक्रिया, व्यवसायीको सम्मान र उपभोक्ता हितलाई समान रूपमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।





