महोत्तरी – महोत्तरी जिल्लाका १५ वटै पालिकाको चिनारी समेटिएको लोकदोहोरी गीत ‘फूल फुल्यो बारैमास, माया भए आउ भेट्न सुटुक्क, महोत्तरी बर्दिबास’ विमोचन गरिएको छ ।
गायक बेलबहादुर परियार र शारदा रसाइलीको स्वर रहेको गीतको शब्द तथा संगीत बेलबहादुर परियारको रहेको छ । गीतमा नारायण दङ्गालको एरेन्ज, कुमार सानु पुनको रेकर्डिङ तथा शङ्करा डिजिटल स्टुडियोको प्राविधिक सहकार्य रहेको छ ।




बर्दिबासस्थित विनायक होटलको सभाहलमा पत्रकार सम्मेलनसहित आयोजित कार्यक्रममा प्रोजेक्टरमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा बर्दिबास उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुरेन्द्र लामा, नेपाल पत्रकार महासंघ नेपालका केन्द्रिय सदस्य राजकरण महतो, गायिका जमुना पोखरेल तथा गायक बेलबहादुर परियारले संयुक्त रूपमा गीत विमोचन गरेका थिए ।
गीतको भिडियोमा सुजता भट्टराई, अशोक लाखे, सरु श्रेष्ठ तथा विकास डान्स स्टुडियोको टोलीको अभिनय रहेको छ । भिडियोको निर्देशन विकास घिमिरेले गरेका छन् भने छायांकन तथा पोस्ट प्रोडक्सनको काम पिएस प्रोडक्सनले गरेको हो ।

महोत्तरी जिल्लालाई विभिन्न कोणबाट चिनाउने उद्देश्यले गीत सिर्जना गरिएको गायक परियारले बताए । गीत तथा भिडियोमा जिल्लाका प्राचीन पर्यटकीय तथा धार्मिक स्थल, मठमन्दिर, चुरे क्षेत्र, खोला–नाला तथा यहाँ बोलिने विभिन्न भाषा र संस्कृतिलाई समेटिएको उनको भनाइ छ ।
विशेषगरी महोत्तरीका १५ वटै पालिकाको नाम र पहिचानलाई गीत तथा भिडियोमार्फत प्रस्तुत गरिएकाले यसले जिल्लाको पर्यटन, कला, संस्कृति र स्थानीय पहिचान प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
गीत ‘बेलबहादुर परियार अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।





