महोत्तरी– महोत्तरीको मनराशिशवा नगरपालिका–२, कट्टीमा ६५ वर्षीया एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन्। स्थानीय गजेन्द्र मण्डलकी श्रीमती पुकारी मण्डल मंगलबार दिउँसो करिब २ बजे घरभित्रै मृत अवस्थामा भेटिएकी हुन्।
प्रहरीका अनुसार श्रीमान् गजेन्द्र घाँस काटेर घर फर्किँदा घरको बाहिर ताल्चा लगाइएको थियो। ताल्चा फुटाएर भित्र प्रवेश गर्दा श्रीमतीलाई मृत अवस्थामा देखेपछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए।



घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले हत्याको सम्भावनासमेतलाई ध्यानमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भोला कुमार भट्टले घटनाबारे गहन अनुसन्धान भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार महिलाको मृत्युको स्पष्ट कारण अहिलेसम्म खुल्न सकेको छैन। यद्यपि, हत्या भएको हुन सक्ने आशङ्कासहित प्रहरीले विभिन्न कोणबाट अनुसन्धान टोली खटाएर सूक्ष्म अध्ययन गरिरहेको छ।
मृतकको शव परीक्षण (पोस्टमार्टम) का लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि र प्रहरीको अनुसन्धानपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।




