नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ। यस अवसरमा नेपालीहरूले मान्यजनबाट देवीको प्रसादस्वरूप टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्दैछन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। देवी विसर्जनको साइत भने बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरिएको समितिले जनाएको छ।



समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमा टीका ग्रहण गर्न चाहनेका लागि बिहान १०:२६ बजेको समय निर्धारण गरिएको हो।
समितिका अनुसार टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्नेछ।
नवदुर्गा भवानीको पूजा–आराधनापछि टीका र जमरा ग्रहण गर्ने परम्पराअनुसार यस दिन परिवारका सदस्य तथा आफन्तजन भेला भई मान्यजनबाट आशीर्वाद लिने गर्छन्। रोजगारी, अध्ययन तथा पेसा–व्यवसायका सिलसिलामा घरबाट टाढा रहेकाहरू पनि दशैं मनाउन थातथलो फर्कने गर्छन्।
कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने चलन छ।




