विराटनगर । संघीयता कार्यान्वयनपछि विराटनगर महानगरपालिकामा भएका विकासका प्रयास, स्थानीय सरकारको अभ्यास, नेतृत्वको भूमिका र एक दशकका उपलब्धिलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक भएको छ। विराटनगर महानगरपालिका वडा नं. ११ ले प्रकाशन गरेको ‘महानगरका दश वर्ष अनुभव र उपलब्धि’ नामक पुस्तक आइतबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।
विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, राष्ट्रिय सभाका पूर्व सदस्य खेम नेपाली, कोशी प्रदेशका पूर्वमन्त्री जयराम यादव, महानगरपालिकाकी पूर्व उपप्रमुख इन्दिरा कार्की, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साह र अर्थशास्त्री डा. भेषप्रसाद धमलालगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरिएको छ।



पुस्तकमा संघीयतापछिको विराटनगरको विकासक्रम, स्थानीय सरकारको कार्यसम्पादन, नेतृत्वको योगदान तथा हासिल भएका उपलब्धि र सामना गर्नुपरेका चुनौतीलाई दस्तावेजका रूपमा समेटिएको छ। महानगरको विगतलाई अभिलेखीकरण गर्दै वर्तमान अवस्थाको समीक्षा र आगामी विकासको कार्यदिशा पहिल्याउन पुस्तक उपयोगी हुने अपेक्षा गरिएको हो।

पुस्तक सार्वजनिक गर्दै महानगर प्रमुख नागेश कोइरालाले यसलाई विराटनगरको इतिहास, विकासक्रम र स्थानीय शासन प्रणाली बुझ्न सहयोग पुर्याउने महत्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा उल्लेख गरे। पुस्तकले वर्तमान पुस्ताका साथै भावी पुस्तालाई पनि महानगरको विगत, विकासका विभिन्न चरण र नेतृत्वको योगदान बुझ्न आधार प्रदान गर्ने उनको भनाइ थियो।
स्थानीय सरकार सञ्चालनको प्रक्रिया, विभिन्न कालखण्डमा नेतृत्वले निर्वाह गरेको भूमिका र विकासका प्रयासबारे अध्ययन गर्न पुस्तक उपयोगी हुने कोइरालाले बताए।
महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले पुस्तकले महानगरको एक दशकको अनुभव र उपलब्धिलाई अभिलेखबद्ध गरेको बताइन्। विगतका अभ्यास र अनुभवको अध्ययनले आगामी दिनमा योजना निर्माण, नीतिगत सुधार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
पुस्तक प्रकाशन समितिका संयोजक तथा वडा नं. ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले पुस्तक प्रकाशन गर्ने वडाको योजनालाई महानगर कार्यपालिकाले अनुमोदन गरेकोमा आभार व्यक्त गरे। उनले पछिल्लो एक दशकमा महानगरले गरेका अभ्यास, प्रयास, उपलब्धि र चुनौतीलाई समग्र रूपमा समेट्ने उद्देश्यले पुस्तक तयार पारिएको जानकारी दिए।
पुस्तकका सम्पादक तथा वरिष्ठ पत्रकार यज्ञ शर्माले विराटनगरको स्थानीय शासन र विकासको अनुभव समेटिएको पुस्तक अन्य स्थानीय तहका जनप्रतिनिधि, नीतिनिर्माता, अनुसन्धानकर्ता तथा आम नागरिकका लागि समेत उपयोगी हुने बताए। स्थानीय तहका अभ्यास र अनुभवलाई दस्तावेजीकरण गर्दा भविष्यमा नीति निर्माण तथा विकासका प्राथमिकता निर्धारण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
पुस्तकमा संघीयतामा स्थानीय तहको भूमिका, विराटनगर महानगरपालिकाको परिचय, स्थापनाकालदेखि हालसम्मको नेतृत्व र योगदानको समीक्षा समावेश गरिएको छ। यसैगरी संघीयतापछिका महानगर प्रमुख तथा उपप्रमुखसँग गरिएका अन्तर्वार्ता, वडा कार्यालयहरूको अवस्था, महानगरका १९ वटै वडाको परिचय तथा पछिल्लो एक दशकमा भएका विकासका प्रयास, उपलब्धि र चुनौतीलाई पनि समेटिएको छ।

महानगरपालिकाको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रियसभा सदस्य खेम नेपाली, संविधानसभा सदस्य जयराम यादव, महानगरपालिकाकी पूर्व उपप्रमुख इन्दिरा कार्की, महानगरका प्रवक्तासमेत रहेका वडा नं. ५ का अध्यक्ष सन्तोष न्यौपाने, वडा नं. १ का अध्यक्ष काजीबहादुर बस्नेत, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साह र अर्थशास्त्री डा. भेषप्रसाद धमलालगायतले पुस्तकको विषयवस्तु र महत्वमाथि धारणा राखेका थिए।
विराटनगर महानगरपालिका वडा नं. ११ ले यसअघि पनि ‘वडा परिचय’ नामक पुस्तक प्रकाशन गरिसकेको छ। वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा लगातार निर्वाचित भएका हुन्।





