महोत्तरी – महोत्तरीको जलेश्वर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा २५ प्रतिशत विद्युत् चुहावट हुने गरेको पाइएको छ । विद्युत् चुहावट नियन्त्रणका लागि प्राविधिक सुधार तथा अनुगमनलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
जलेश्वर वितरण केन्द्रका प्रमुख रोशनकुमार सिंहका अनुसार केन्द्रले खरिद गर्ने कुल विद्युत् मध्ये २५ प्रतिशत चुहावट हुने गरेको छ । महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकामध्ये गौशाला, बर्दिबास नगरपालिका र सोनमा गाउँपालिकाबाहेक १२ स्थानीय तहमा यस केन्द्रले विद्युत् वितरण गर्दै आएको छ ।



प्रमुख सिंहले जिल्लामा प्राविधिक र अप्राविधिक गरी दुई प्रकारको विद्युत् चुहावट हुने गरेको बताउनुभयो । प्राविधिक चुहावट नियन्त्रणका लागि ट्रान्सफर्मर थप्ने, फेज ट्रान्सफर गर्नेलगायतका काम भइरहेको उहाँले जानकारी दिनुभयो । अप्राविधिक चुहावट नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा अनुगमन तथा कारबाही भइरहेको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षमा जलेश्वर वितरण केन्द्रले एक हजार ६२६ ग्राहकको विद्युत् लाइन काटेको छ । तीमध्ये एक हजार २०७ ग्राहकले लाइन काटिएपछि तोकिएको रकम बुझाइसकेको केन्द्रले जनाएको छ । लाइन काटिएका ग्राहकबाट तीन करोड ४३ लाख ४५ हजार ७२५ रुपियाँ असुल गर्नुपर्नेमा हालसम्म दुई करोड ७६ लाख २७ हजार ८६० रुपियाँ उठेको प्रमुख सिंहले बताउनुभयो ।
अप्राविधिक चुहावट नियन्त्रणका लागि मिटर निरीक्षण, अनधिकृत रूपमा हुकिङ गरी विद्युत् प्रयोग गर्नेको पहिचान तथा कारबाहीलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा विद्युत् चुहावटमा संलग्न १७१ जनालाई कारबाही गरी १५ लाख रुपियाँभन्दा बढी जरिवाना असुल गरिएको छ ।
प्रमुख सिंहका अनुसार माछा व्यवसाय, डिजे व्यवसाय, राइस मिल र इँटा उद्योगमा बढी विद्युत् चुहावट हुने गरेको पाइएको छ । घरायसी प्रयोजनमा समेत हुकिङ गरी विद्युत् प्रयोग गर्ने गरेको अनुगमनका क्रममा भेटिएको उहाँले बताउनुभयो ।
विद्युत् चुहावट गैरकानुनी हुनुका साथै यसबाट दुर्घटना, आगलागी र मानवीय क्षतिसमेत हुन सक्ने भएकाले त्यस्ता गतिविधि नगर्न उहाँले ग्राहकलाई आग्रह गर्नुभयो । विद्युत् आपूर्ति भइरहेको लाइनमा मिटर छेडछाड गर्ने, मुख्य लाइनमा हुकिङ गर्ने तथा मिटर बिगार्ने कार्यले जोखिम निम्त्याउने उहाँको भनाइ छ ।
यसैगरी, विद्युत् महसुल अनलाइनबाट भुक्तानी गर्न पनि उहाँले ग्राहकलाई आग्रह गर्नुभयो । काउन्टरमा भुक्तानी गर्दा दुई प्रतिशत र अनलाइनबाट भुक्तानी गर्दा साढे दुई प्रतिशतसम्म छुटको व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । जलेश्वर वितरण केन्द्रअन्तर्गतका ग्राहकले गर्ने कुल भुक्तानीमध्ये ४६ प्रतिशत मात्रै अनलाइनमार्फत हुने गरेको उहाँले बताउनुभयो ।




