
जनकपुरधाम- जनकपुरधामबाट संचालन हुने लामो दुरीका सार्वजनिक यातायात बस सेवा संचालन हुने भएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले जनकपुरधामबाट सञ्चालन हुने मध्यम तथा लामो दूरीको सार्वजनिक यातायात सेवा सञ्चालनका लागि अनुमति दिने निणर्य गरेको हुँदा शनिवार देखि सबै बस सेवाहरु संचालन हुने भएको छ।
यसअघि धनुषा, महोत्तरी जिल्लामा चल्ने छोटो दूरीका मात्र सवारी साधन सञ्चालनमा आएका थिए ।
कोरोना महामारीका कारणले करिब अढाई महिनादेखि बन्द रहेका लामो तथा मध्यम दूरीका यातायात सेवा सञ्चालनको निणर्यलाई बस व्यवसायीहरूले स्वागत गरेका छन् ।
सार्वजनिक सवारी साधन खुल्ला गर्ने निणर्य गरे पनि सार्वजनिक सवारी साधनले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न लगाउने निणर्य गरेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।
सवारी साधन संचालन गरिंदा स्वास्थ्य सुरक्षा मापदण्डको पूणर् पालना गर्नुपर्ने र नगरेको पाइए आर्थिक जरिवाना गर्ने निणर्य गरिएको छ । यसको लागि अनुगमन गर्ने जिम्मेवारी नेपाल प्रहरीले गर्ने छ ।
खास गरेर त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग सहितको निकायहरूको परीक्षा सञ्चालन हुने भएकाले गृह मन्त्रालयले सहजीकरणको लागि पत्राचार भएकाले बन्द रहेको मध्यम तथा लामो दूरीको सवारी साधन खोल्ने निणर्य गरिएको प्रजिअ बास्तोलाले जनाए।
बैठकले कोरोनाको संक्रमणको दर घटे पनि जोखिम कायमै रहेकाले सेवा लिनका लागि आउने सेवाग्राहीहरूलाई कार्यालय प्रवेश गर्दा मास्क अनिवार्य गर्ने, प्रादेशिक अस्पताल, जानकी मेडिकल कलेज एवं शिक्षण अस्पताल, निजी स्वास्थ्य संस्थाहरू, स्थानीय तहले सञ्चालन गरेको कोरोना अस्पतालमा कोरोनाका संक्रमित नभए पनि तेस्रो लहर आउने जोखिम रहेकाले भएको अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालन गरिनै राख्नका लागि अनुरोध गर्ने निणर्य गरिएको छ ।
यसै गरी धनुषा जिल्लामा जारी रहेको निषेधाज्ञाको अवधि बढाएर साउन २० गतेसम्म थप गर्ने निणर्य गरेको छ । धनुषामा अब शिक्षण संस्थाहरु (कलेज, विद्यालय, कोचिङ सेन्टर, लोकसेवा आयोगका तयारी कक्षा, ट्युसन सेन्टर) बाहेकका सबै कुरा खुल्ला भइसकेको छ ।