
सन्तोष यादव,लहान : धेरै स्थानीय तहमा जनप्रतिनिधिबाट जनता पीडित भइरहेका छन् । तर सिरहाको औरहीमा प्रमुख प्रशासकिय अधृतबाटै जनप्रतिनिधि स्वयंम पीडित बनेका हुन् ।
आर्थिक वर्ष २०७७/०७८ समाप्त भएको एकसाता बितिसक्यो । तर यहाँका प्रमुख प्रशासकिय अधिकृत राम नारायण साहको ठाडो निर्देशनमा वडा सञ्चालन खर्चको चेक रोकिएको छ । अधिकृत साहले ५० प्रतिशत कमिशन मागेको र नदिएपछि चेक रोकेको एक वडा सचिवले बताए ।
वडा सञ्चालन खर्चको भुक्तानीका लागि पाँचै वडाका सचिबहरुले सम्पूर्ण बिल भर्पाइको फाइल तयार गरी कार्यालयमा पेश गरेका थिए । स्रोतका अनुसार चेक पनि बनिसकेको छ । तर अधिकृत साहले लेखा प्रमुख आशिष कुमार कामतीलाई वडाको चेक तत्काल रोकेर राख्न निर्देशन दिएका छन् । लेखा शाखाका एक कर्मचारीले भने, ‘चेक तत्काल कसैलाई नदिन हाकिम साहेबले निर्देशन दिनुभएको छ । के लफडा हो मलाई थाहा भएन ।’
अधिकृत साहको निर्देशनपछि लेखा प्रमुख कामतीले चेक दिन नमानेको एक वडा सचिवले बताए । अधिकृत साहले बोलाएर कमिशन मागेको र नदिएपछि चेक रोकेर राखेको उनले सुनाए । आफूहरु जनप्रतिनिधि भएपनि अधिकृतले कमिशन मागेपछि आश्चर्य लागेको छ– उनले थपे ।
आर्थिक वर्ष २०७७/०८८ मा वडा सञ्चालनको लागि गाउँपालिकाको प्रत्येक वडालाई ८/८ लाख रुपैया दिने गाउँ सभाबाट पारित भएको थियो । गत आर्थिक २०७६/०७७ मा पनि गाउँपालिकाको प्रत्येक वडालाई ८/८ लाख नै छुट्याइएको थियो । तर वडा १ र ५ को भुक्तानी हुन सकेको थिएन । यि दुई वडाको खर्च बापतको चेक आर्थिक वर्ष २०७७/०७८ मा अधिकृत साहले ५० प्रतिशत कमिशन लिएर दिएको स्रोतले जनायो ।
तर आर्थिक वर्ष २०७७/०७८ को वडा सञ्चालन खर्च बापतको चेक कुनै वडालाई दिइएको छैन । एक वडाध्यक्षले भने, ‘गत वर्षको सञ्चालन खर्चको चेक लिन गाहे थियो । त्यही भएर कमिशन पनि दिन बाध्य भए । तर फेरी पनि किन कमिशन दिनु ?’ उनले चेक नदिए पनि अधिकृत साहमाथि मुद्दा हाल्ने पनि चेतावनी दिए ।
औरहीमा कमिशन बिना कुनै पनि काम हुने गरेका छैन । अधिकृत साहले लिने कमिशन रकम गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवसम्म पुग्ने गरेको स्रोतको दावी छ । अहिले गाउँपालिका लहान नगरपालिकाबाट सञ्चालन भइरहेको छ । कमिशनकै लागि सुनसरीका एनजिओमार्फत गाउँपालिकाले विभिन्न तालिम समेत सञ्चालन गराएको छ ।