
महोत्तरी- महोत्तरी जिल्लाको मात्रै नभई सम्भवतः यस भेगकै सबभन्दा ठुलो पोखरीको रूपमा चिनिएको रामगोपालपुर ३ दोलाढीका सौतेनिया पोखरी ओझेलमा परेको छ ।
पिकनिक स्पट, डुङ्गा सयर, शान्त र रमणीय ठाउँको रूपमा त्यसलाई विकास गर्न सकिने भए पनि प्रचारप्रसार हुन नसक्दा सो पोखरी ओझेलमा परेको रामगोपालपुर नगरपालिकाका वयोवृद्ध लक्ष्मी मण्डलले जानकारी दिनुभयो ।करिब २२ बिघामा फैलिएको सो पोखरी सम्भवतः नेपालकै सबभन्दा ठुलो पोखरी हुन सक्ने दाबी गर्नुहुँदै मण्डलले भन्नुभयो, "उचित प्रचारप्रसार नहुँदा तथा पोखरीमा प्रचारप्रसारका लागि अत्यावश्यक काम हुन नसक्दा पोखरीबारे धेरै जना अनभिज्ञ छ ।"

जलेश्वर जनकपुर सडकखण्डबाट करिब १०० मिटर पश्चिममा पर्ने सो पोखरी ९४५ हाथ लामो भएको जनाइएको छ । स्थानीय वयोवृद्ध मण्डलले स्थानीय पालिका निर्माण भएपछि पोखरीबारे चासो, चिन्ता र कामहरू केही भए पनि अपेक्षाकृत हुन नसकेको बताउनुभयो । सो पोखरी कसले र कुन समयमा निर्माण गराएको हो सो को यकिन तथ्याङ् नभएको बताउनुहुँदै वयोवृद्ध लक्ष्मी मण्डलले भन्नुभयो, "कुनै राजा, महाराजले सो पोखरी निर्माण गराएको हुन सक्ने आँकलन गर्न सकिन्छ, किनकी पोखरी वरपर माटो खन्दा ठुलठुला आकारको इँटहरू फेला पर्ने गरेको छ ।"

रामगोपालपुर एफएमका सञ्चालक किशोर कुमार ठाकुरले सौतेनिया पोखरी कुनै राजा, महराजाहरूले सुखसयलका लागी निर्माण गराएको हुनसक्ने स्थानीयवासीहरूको भनाइ छ । कतिपयले सो क्षेत्रमा विगतमा गढ समेतले पोखरी ऐतिहासिक रहेको बताउनुभयो । सौतेनिया पोखरीको वरपर विगतमा कुनै गढ वा के थियो त्यो भने अनुसन्धानको विषय रहेको बताउनुहुँदै युवा ठाकुरले स्थानीय पालिकाले सो क्षेत्रलाई उत्खनन् गराउनुपर्ने सल्लाह दिनुभयो ।
स्थानीय बुढापाकाहरूले करिब २२ बिघामा फैलिएको पोखरीको बिचमा खेतको आलीझै दुई भाग देखिएकोले पोखरीको नाम सौतेनिया रहेको बताउनुहुँदै पोखरीको डिलमा सौतेनिया माई तथा पोखरीको पूर्वपट्टी शिव निल महादेवको मन्दिर समेत रहेको छ । कतिपय स्थानीयवासीहरूले सो पोखरीभित्र दुई वटा इनार भएको कारण सो पोखरीलाई सौतेनिया पोखरी भनिँदै आए पनि के कारणले सौतेनिया पोखरी नामाकरण गरिएको हो त्यस्को अनुसन्धान गर्नु आवश्यक रहेको युवा किशोर ठाकुरले बताउनुभयो ।

सूचनाको हक सम्बन्धि राष्ट्रिय महासङ्घ महोत्तरी शाखाले सो पोखरीको प्रचारप्रसारमा टेवा पुग्ने उद्देश्यले पहिलो बैठक सोही ठाउँमा राखिएको जनाएको छ । शाखाका अध्यक्ष धर्वेन्द्र कुमार यादव(बाबु प्रेम यदुवंशी)ले एकदमै शान्त वातावरण रहेको सो पोखरीको प्रचारप्रसार आवश्यक रहेको बताउनुहुँदै सो पोखरीलाई सौन्दर्यीकरण गरेर पिकनिक स्पट, डुङ्गा सयर लगायतका कुराहरू गर्ने हो भने पालिकाको समेत विकास हुने बताउनुभयो ।
हालै सो पोखरीको भ्रमण गरेर आउनुभएका जलेश्वरका युवा जितेन्द्र पासवानले चारै तर्फ रुखहरूको बिचमा शान्त र मनोरम देखिने सौतेनिया पोखरीको उचित विकास र संरक्षण जरुरी रहेको बताउनुभयो । रामगोपालपुर नगरपालिकाको ११ औं नगर सभाले सौतेनिया पोखरी र अन्य पोखरी समेतलाई सौन्दर्यीकरण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि आवश्यक रणनीति अपनाइने उल्लेख गरेबाट पनि सो पोखरीको ऐतिहासिकतालाई पुष्टि गर्ने नगरप्रमुख रामदुलार साहले बताउनुभयो ।
नगरप्रमुख साहले नगरभित्रका प्राचिन मठमन्दिर, गुठी, ताल, तलैया, पोखरीहरूको स्तरोन्नती र संरक्षणका लागि नगरपालिकाले कामकाज गरिरहेको बताउनुहुँदै सङ्घीय सरकारको समपुरक अनुदानबाट सौतेनिया पोखरीमा गेट, घेरा तथा धर्मशाला लगायतका कामहरु भइरहेको बताउनुभयो ।
बर्दिवास जलेश्वर राजमार्गमा पर्ने सो पोखरीबारे अनुसन्धान गरिए थप कुराहरू बाहिर आउने र ऐतिहासिक दस्तावेज समेत हुने भएकोले सो को अनुसन्धान हुनुपर्ने माग स्थानीयवासीहरूको छ । पर्यटन विकासमा सौतेनिया पोखरीले समेत टेवा दिने भएकोले स्थानीय पालिका, प्रदेश सरकार समेतले यसलाई चासो दिई उत्खनन् र अनुसन्धान गर्नुपर्ने स्थानीय वयोवृद्ध लक्ष्मी मण्डलले बताउनुभयो ।