काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपाल–भारत खुला सीमामा तारबार लगाउनुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गरिरहेकी बेला उनका अन्य गतिविधिहरूलाई लिएर राजनीतिक वृत्तमा प्रश्न उठ्न थालेका छन्।
सांसद तामाङले विभिन्न अवसरमा भारतलाई नेपालको प्रमुख विकास साझेदारका रूपमा उल्लेख गर्दै दुई देशबीचको सम्बन्धको प्रशंसा गर्दै आएकी छन्। साथै, धादिङस्थित एक माध्यमिक विद्यालयका लागि बस उपलब्ध गराइदिन भारतीय दूतावाससँग अनुरोध गरेको विषय पनि सार्वजनिक भएको छ।



यसै सन्दर्भमा कतिपयले सीमा व्यवस्थापनबारे कडा धारणा राख्ने र अर्कोतर्फ भारतसँगको सहयोगलाई सकारात्मक रूपमा प्रस्तुत गर्ने कार्यबीच नीतिगत स्पष्टता आवश्यक रहेको टिप्पणी गरेका छन्।
विश्लेषकहरूका अनुसार सार्वजनिक अभिव्यक्ति र व्यवहारबीच सन्तुलन तथा स्पष्टता हुन नसके राजनीतिक नेतृत्वको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्छ। एउटै विषयमा फरक–फरक सन्देश जाँदा नागरिकमाझ अन्योल सिर्जना हुने र राजनीतिक सन्देशको प्रभाव कमजोर बन्न सक्ने उनीहरूको भनाइ छ।
यद्यपि, समर्थकहरूले भने सीमा सुरक्षा र विकास सहकार्य फरक विषय भएकाले दुवै मुद्दामा एकसाथ धारणा राख्न सकिने तर्क गर्दै आएका छन्।




