मो. इसराफिल राइन,महोत्तरी – महोत्तरी जिल्लाको मटिहानीमा बडादशैँको पावन अवसरमा विश्व शान्ति, मानव कल्याण तथा धार्मिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले भव्य शान्ति कलश शोभायात्रा निकालिएको छ। श्री आदर्श दुर्गा पूजा समिति, मटिहानीको आयोजनामा सञ्चालित सो शोभायात्रामा हजारौँको संख्यामा श्रद्धालु भक्तजन, स्थानीयवासी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।
मटिहानीस्थित ऐतिहासिक दुर्गा मन्दिरको प्राङ्गणबाट शुभारम्भ भएको शोभायात्रा नगरका मुख्य-मुख्य मार्ग हुँदै सीमावर्ती मधवापुर लगायतका क्षेत्रको परिक्रमा गरी मटिहानीस्थित प्रसिद्ध लक्ष्मी सागरमा जल (कलश) भरेपछि पुनः दुर्गा मन्दिर परिसर पुगेर सम्पन्न भएको थियो।



उक्त अवसरमा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले धार्मिक तथा सांस्कृतिक पर्वहरूले समाजमा आपसी एकता, मेलमिलाप र सहिष्णुताको भावना जागृत गर्ने विश्वास व्यक्त गर्नुभयो। यस्ता धार्मिक कार्यक्रमले समाजमा शान्ति, सद्भाव र भाइचाराको सम्बन्धलाई थप सुदृढ बनाउने उहाँको भनाइ थियो।

शोभायात्रामा महोत्तरी क्षेत्र नं. ३ का सांसद उज्जवल कुमार झा, मधेश प्रदेशका पूर्व मन्त्रीहरू अभिराम शर्मा र रानी शर्मा तिवारी, मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (SP) श्याम सारू मगर लगायत सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यसैगरी, मटिहानी नगरपालिकाका नगर उपप्रमुख मञ्जु देवी साह, जलेश्वर नगरपालिकाका पूर्व नगर प्रमुख शंकर शाही, उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष विजय कुमार साह, पत्रकार महासंघ महोत्तरीका पूर्व अध्यक्ष कमलेश मण्डल, महोत्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मोहन गुप्ता, पूर्व उपाध्यक्ष राकेश गुप्ता, वर्तमान अध्यक्ष जितेन्द्र चौधरी, उपाध्यक्षद्वय अजय साह र पवन साह, सदस्य रञ्जीत साह लगायत उद्योगी-व्यवसायीहरूको पनि सहभागिता थियो।

शोभायात्रामा जनता समाजवादी पार्टी (जसपा) का नगर अध्यक्ष श्याम कुमार मण्डल, विभिन्न राजनीतिक दलका नेता-कार्यकर्ता, मटिहानी वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्ष तथा सदस्यहरू, पूर्व कर्मचारीहरू कैलाश ठाकुर, राम सेवक साह, बरुन मण्डल, पूर्व शिक्षकहरू राजेश्वर मण्डल, विश्वनाथ यादव, आयोजक श्री आदर्श दुर्गा पूजा समितिका अध्यक्ष नरेश कुमार महतो लगायत सम्पूर्ण पदाधिकारी, नगरपालिकाका कर्मचारी, स्थानीय समाजसेवी, धार्मिक अगुवा तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
शोभायात्राका क्रममा श्रद्धालु भक्तजनहरूले दुर्गा भवानीको जयजयकार गर्दै नगरको वातावरणलाई धार्मिक तथा आध्यात्मिक भावनाले गुञ्जायमान बनाएका थिए। दुर्गा भवानीका नौवटा शक्तिपीठीय प्रतीकात्मक झाँकी, आकर्षक सजावट, बाजागाजा तथा विभिन्न धार्मिक समूहका सांगीतिक प्रस्तुतिहरू शोभायात्राका प्रमुख आकर्षणका रूपमा रहेका थिए।

बडादशैँको अवसरमा आयोजना गरिएको यस शान्ति कलश शोभायात्राले मटिहानी नगर तथा आसपासका क्षेत्रमा धार्मिक उत्साह, उल्लास र आस्थाको वातावरण सिर्जना गरेको सहभागीहरूले बताएका छन्। यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समाजमा आपसी सद्भाव, सामाजिक एकता र धार्मिक सहिष्णुता कायम राख्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।






















