महोत्तरी – जनमत पार्टीले रंगभेदविरुद्ध बिहीबार ‘एकता दिवस’ मनाउँदै महोत्तरीसहित देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेको छ।
यसैक्रममा जनमत पार्टीको औरही नगर कार्यसमितिको अगुवाइमा महोत्तरीको औरही नगरपालिका–१ स्थित औरही बजारमा विरोध प्रदर्शन गरिएको छ। प्रदर्शनका क्रममा सहभागीले बर्दिबास–जलेश्वर सडकखण्डअन्तर्गत औरही बजार चोकमा टायर बालेर चर्को नाराबाजी गर्दै रंगभेद तथा जातीय विभेद अन्त्यको माग गरेका हुन्।



प्रदर्शनमा सहभागीले ‘मधेस प्रदेशलाई स्वायत्त प्रदेश घोषणा गर’, ‘रंगभेद आक्रमण बन्द गर’,‘धोती–भैया भनेर हेप्न पाइँदैन’,‘नश्लवादी राज्य चाहिँदैन’ र ‘रंगको आधारमा विभेद बन्द गर’ लगायतका नारा लगाएका थिए।
जनमत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको प्रदर्शनमा मधेसी समुदायको भाषा, संस्कृति, पहिचान, पहिरन र आत्मसम्मानमाथि हुने विभेद अन्त्य गर्नुपर्ने माग उठाइएको थियो।
कार्यक्रममा सहभागीले समाजमा सबै जातजाति, भाषा, संस्कृति र समुदायबीच समानता तथा आपसी सद्भाव कायम हुनुपर्नेमा जोड दिएका थिए। रंग, भाषा, भेषभूषा र क्षेत्रका आधारमा कसैमाथि पनि विभेद गर्न नहुने उनीहरूको माग थियो।
जनमत पार्टीले ‘एकता दिवस’का अवसरमा विभिन्न जिल्लामा प्रदर्शन तथा विरोध कार्यक्रम आयोजना गरी रंगभेदविरुद्ध आवाज उठाएको जनाएको छ।







