महोत्तरी – महेन्द्र कुमार राय,नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवारले महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत औरही नगरपालिका वडा नम्बर १ र २ का औरही, फुलवरिया तथा चेपकट टोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।

घरदैलो अभियानका क्रममा उम्मेदवार रायले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव सुन्नुभएको थियो। कार्यक्रममा स्थानीयवासी तथा युवाहरूले फूलमाला र खादा लगाएर उहाँलाई स्वागत तथा सम्मान गरेका थिए।



संवादका क्रममा स्थानीय सहभागीहरूले विगतमा निर्वाचनका समयमा मात्र आश्वासन दिइने तर विकास र रोजगारीका क्षेत्रमा अपेक्षित उपलब्धि नदेखिएको गुनासो व्यक्त गरेका छन्। उनीहरूले यसपटक सक्षम र नयाँ नेतृत्वलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।

उम्मेदवार रायले निर्वाचित भएपछि स्थानीय समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीलाई केन्द्रमा राखी विकासका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। औरही नगरपालिका वडा नम्बर १ र २ मा प्राप्त जनअनुभवलाई संघीय संसदमा पुर्याई क्षेत्रको समग्र विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।

घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूले आगामी निर्वाचनमा उम्मेदवार रायलाई पूर्ण साथ र समर्थन रहने विश्वास व्यक्त गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा महोत्तरी–४ मा उहाँले घरदैलो अभियानलाई थप तीव्र बनाउँदै गाउँ–टोलमै पुगेर जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिइरहनुभएको छ।

विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै उम्मेदवार रायले स्वच्छ, पारदर्शी र उत्तरदायी राजनीति आजको आवश्यकता भएको धारणा राख्नुभएको छ। स्थानीयवासीका अनुसार महोत्तरी निर्वाचन क्षेत्र नम्बर–४ मा विभिन्न दलका उम्मेदवारबीचको प्रतिस्पर्धा दिनानुदिन रोचक बन्दै गएको छ।



























