सर्लाही– सर्लाहीको बेग्लाबेग्लै तीन स्थानमा भएको आगलागीबाट तीन वटा घर जलेका छन् भने लाखौँको धनमाल नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चुरेवर्ती क्षेत्रस्थित बागमती नगरपालिका–१, हिरेडाँडामा आगलागी हुँदा स्थानीय रामबहादुर बलको दुई तले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरका मानिस काम गर्न गएका बेला आगलागी भइ बलको घर जलेर नष्ट भएको हो ।



आगलागीमा परेर घरसहित घरभित्र रहेका सरसामग्री जल्दा तीन लाख २० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै हरिवन नगरपालिका–१०, सुखेपोखरीमा आगलागीबाट ओम मैनालीको घर र घरभित्र रहेका सरसामग्री जलेर नष्ट हुँदा नौ लाख ४० हजार रुपियाँ बराबरको क्षति भएको छ ।
सुरक्षाकर्मी, गाउँले र बरहथवा नगरपालिकाबाट आएको दमकलको सहयोगमा लामो प्रयासपछि आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यसैगरी सीमावर्ती पर्सा गाउँपालिका–३, नारायणपुरमा आगलागीबाट स्थानीय कौशल यादवको घरमा क्षति पुगेको छ ।
आगलागीबाट यादवको घरमा ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका नवलकिशोर चौधरीले सञ्चालन गरेको कवाड पसल जल्दा १२ लाख ३८ हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । तीनै स्थानमा भएको आगलागीको कारण प्रष्ट नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।




