जनकपुरधाम । भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको सरयू–कमला एक्सप्रेस यही मङ्सिर १२ गते शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालन हुने भएको छ । यसका लागि बिहीबारदेखि जनकपुरधाममा टिकट काट्न सुरु गरिएको छ ।
नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सातामा एक दिन नेपालको जनकपुरधामबाट भारत उत्तर प्रदेशको अयोध्याधामसम्म सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेलका सन्दर्भमा दुवै पक्षबिच सम्पूर्ण तयारी पूरा भएको छ । रेल सञ्चालनका लागि रेलको समय तालिकादेखि भाडादर निर्धारणलगायतका काम पूरा भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिर १२ गते शनिबार नेपाली समय अनुसार दिउँसो १ बजेर १० मिनेटमा जनकपुरधामबाट अयोध्याका लागि सरयू–कमला एक्सप्रेस रेल प्रस्थान हुने छ । रेल भारतको जयनगर, मधुवनी, सिसो, सितामढी, रक्सौल, नरकटियागन्ज, पनियाहवा, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधाममा विश्राम लिँदै आइतबार भारतीय समय अनुसार ८ बजेर १० मिनेटमा अयोध्या क्यान्टमा पुग्ने छ । सोही रेल सोमबार अयोध्या क्यान्टबाट भारतीय समय अनुसार साँझ ५ बजेर ५० मिनेटमा जनकपुरधामका लागि प्रस्थान गरी मङ्गलबार ११ बजेर ४० मिनेटमा जनकपुरधाम आइपुग्ने छ ।



रेलवेका महाप्रबन्धक पराजुलीका अनुसार रेलमा टु टायर एसी, थ्री टायर एसी, एसी इकोनोमी र स्लिपर गरी चार प्रकारका सिटको व्यवस्था रहेको जानकारी दिनुभयो । उहाँले जनकपुरधामदेखि अयोध्यासम्मका लागि कनभिनेन्स र इन्सुरेन्स फीबाहेक व्यसिक रूपमा टु टायर एसीको भारु (भारतीय रुपियाँ) १३६०, थ्री टायर एसीको भारु ९६५, एसी इकोनोमीको भारु ८८५ र स्लिपरका लागि भारु ३६५ रुपिया भाडादर निर्धारण गरिएको जानकारी दिनुभयो । उहाँले तत्काल निर्धारण गरिएको भाडादरमा पनि नेपालतर्फबाट अयोध्या जानेका लागि केही कम गर्ने विषयमा भारतीय पक्षसँग कुराकानी भइरहेको बताउनुभयो ।
उहाँले टिकटका लागि जनकपुरधामको काउन्टरमै व्यवस्था गरिएको भन्दै भारतमा भारतीय रेलसेवाको सिस्टम अनुसार अनलाइनमार्फत टिकटसमेत काटिने व्यवस्था भारतीय पक्षले मिलाएको जानकारी दिनुभयो ।
छैन घुमाउने तयारी
जनकपुरधामबाट अयोध्या जाने यात्रीले एक दिन मात्रै अयोध्यामा विश्राम लिई जनकपुरधाम फर्किन सक्ने छन् भने अयोध्याबाट जनकपुरधाम आउने यात्रुलाई चार दिन जनकपुरधाममा रहनुपर्ने अवस्था छ । उक्त चार दिनमा रेलबाट आउने पर्यटकलाई कहाँ कहाँ घुमाउने विषयमा कुनै तयारी छैन । नेपाल रेलवेका महाप्रबन्धक पराजुलीले अयोध्याबाट जनकपुरधाम आउने पर्यटकलाई चार दिनसम्म घुमघामका लागि प्याकेज तयार गर्न जनकपुरधामका होटेल व्यवसायी सङ्घ र सरोकारवालालाई आग्रह गरिएको जानकारी दिनुभयो । सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर सरयू–कमला एक्सप्रेस नाम रहेको साप्ताहिक रेलको उद्घाटन गर्नुभएको थियो । मर्यादा पुरुषोत्तम भगवान् रामको जन्मभूमि अयोध्याबाट रेल मङ्गलबार बिहान जगत् जननी सीताको माइती जनकपुरधाम आएपछि रेलमा सवार अतिथिलाई जनकपुरधाममा भव्य स्वागत गरिएको थियो ।




