धनुषा । पछिल्लो समय मधेश प्रदेशका जिल्लाहरूमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको पाइएको छ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षामा प्रस्तुत तथ्याङ्कअनुसार मानसिक स्वास्थ्य समस्याका कारण एक वर्षको अवधिमा १ हजार २८८ जनाको मृत्यु भएको छ।
मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष र टिओपी नेपालको सहयोग एवं समन्वयमा जनकपुरधाममा सम्पन्न कार्यक्रममा मानसिक स्वास्थ्य समस्याका कारण हुने मृत्युको सङ्ख्या बढ्दै गएको जानकारी दिइएको हो।



स्वास्थ्य निर्देशनालयका अनुसार मानसिक स्वास्थ्य समस्याका कारण झुन्डिएर १ हजार १०६ जनाको मृत्यु भएको छ भने विष सेवनका कारण १८२ जनाले ज्यान गुमाएका छन्।
कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री नागेन्द्रप्रसाद साहले पछिल्लो समयमा विभिन्न कारणले मानसिक स्वास्थ्य समस्या बढ्दै जानु गम्भीर विषय भएको बताउनुभयो। उहाँले मानसिक स्वास्थ्य सेवाको विस्तार र प्रभावकारी परामर्श आवश्यक रहेको धारणा राख्नुभयो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले मधेश प्रदेशमा करिब ६४ लाख जनसङ्ख्या रहे पनि मानसिक स्वास्थ्य उपचारका लागि सरकारी तथा निजी क्षेत्रमा गरी १० जना मात्र चिकित्सक रहेको जानकारी दिनुभयो। उहाँले जनशक्ति अभावका कारण सेवा प्रवाहमा चुनौती रहेको उल्लेख गर्नुभयो।
मधेश प्रदेश स्वास्थ्य निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष मधेश प्रदेश प्रमुख डा. नरेन्द्रकुमार मिश्रले वर्षेनी करिब १ हजार ३०० जनाको मानसिक स्वास्थ्य समस्याका कारण मृत्यु हुनु चिन्ताजनक अवस्था भएको बताउनुभयो।
उहाँले प्रत्येक स्थानीय तहमा मानसिक स्वास्थ्य परामर्श सेवा प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।
स्वास्थ्य निर्देशनालयका अनुसार मधेश प्रदेशका १३६ पालिकामध्ये सामी परियोजनाको सहयोगमा हालसम्म ९३ पालिकामा मनोसामाजिक परामर्शकर्ताको पहुँच पुर्याइएको छ। साथै मानसिक रोगका अत्यावश्यक औषधी खरिद गरी वितरण गर्ने कामसमेत भइरहेको जनाइएको छ।
प्रदेशका आठवटै जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, स्वास्थ्यकर्मी तथा सरोकारवालाको सहभागितामा सम्पन्न समीक्षामा मानसिक स्वास्थ्य समस्या समाधानका लागि नीति सुधार, सेवा विस्तार र जनचेतना अभिवृद्धिमा जोड दिइएको थियो।




