काठमाडौँ – मुलुकभर शुक्रबार (आज) हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । यो एकादशीलाई ठुलो एकादशी पनि भनिन्छ ।
आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु हरिबोधिनी एकादशीका दिन जागा हुने शास्त्रीय मान्यता छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घर घरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधिनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेष रूपमा मनाउने गरिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् ।



हरिशयनी एकादशीका दिन घर घरमा तुलसी रोप्ने गरिन्छ । त्यही तुलसी रोपेको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर हरिबोधिनी एकादशीमा विवाह महोत्सव गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थसमान मानिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिना विष्णु क्षीर सागरमा सुतेकाले विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ ।
यस अवसरमा उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँको शेषनारायण र इचङ्गुनारायणमा एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ । यस अवसरमा चार नारायणको दर्शन गरे पाप पखालिई पुण्य कमाइने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यसै अवसरमा काठमाडौँको उत्तरी भेगमा रहेको बुढानीलकण्ठ नारायणको दर्शन गर्न भक्तजनको घुइँचो लाग्छ । त्यहाँ दर्शन गरे चार नारायणमै दर्शन गरेको फल मिल्ने धार्मिक विश्वास छ ।




