महोत्तरी– महोत्तरीको औरहीस्थित सोनामाई कृषि सहकारी संस्था लिमिटेडले बचतकर्ताको रकम फिर्ता गर्ने क्रममा थप चार लाख रुपैयाँ फिर्ता गरेको छ।
सहकारीमा बचत गरेको रकम फिर्ता नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी दिएकी मनरासिस्वा नगरपालिका–६, सरपल्लो निवासी ३४ वर्षीया इन्दु कुमारी देवीले बाँकी चार लाख रुपैयाँ फिर्ता पाएकी हुन्।



देवीले सहकारीमा जम्मा गरेको १२ लाख रुपैयाँमध्ये यसअघि कार्तिक १२ गते भएको सहमतिअनुसार आठ लाख रुपैयाँ फिर्ता पाइसकेकी थिइन्। बाँकी चार लाख रुपैयाँ बिहीबार जिल्ला प्रशासन कार्यालय महोत्तरीमा भएको छलफलपछि फिर्ता गरिएको हो।
यो पनि पढ्नुहोस : –महोत्तरी प्रशासनको पहलमा एकल महिलाले पाइन् सहकारीमा डुबेको आठ लाख
प्रशासन कार्यालयमा भएको सहमतिअनुसार सहकारीका तर्फबाट उपस्थित सुशीलकुमार साहका भाई सुनिलकुमार साहले बचतकर्ता देवीलाई उक्त रकम हस्तान्तरण गरेका थिए।
सहकारीमा जम्मा गरेको रकमको मूलधन फिर्ता भए पनि ब्याज भुक्तानीको विषयमा भने दुवै पक्षबीच सहमति जुट्न सकेको छैन। ब्याज रकमबारे थप छलफल गरी टुंगो लगाउन दुवै पक्ष मंसिर १० गते पुनः जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुने सहमति भएको छ।
देवीले आफ्नो १२ लाख रुपैयाँ फिर्ता नपाएपछि सहकारीका अध्यक्ष विश्वनाथ साह कानुका छोरा सुशीलकुमार साह र संस्थाका सञ्चालक राजाराम साहलाई विपक्षी बनाई जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन्।
प्रशासनको पहलमा पटकपटक भएको छलफल र सहजीकरणपछि बचतकर्ताले जम्मा गरेको सम्पूर्ण मूलधन फिर्ता पाएकी छन्। अब ब्याज रकम भुक्तानीको विषय मात्र टुंग्याउन बाँकी रहेको छ।





