धनुषा । धनुषा र सिराहा जिल्लालाई जोड्ने कमला नदीको पुल मङ्सिरको तेस्रो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । पुल निर्माणसँग सम्बन्धित अधिकांश काम सम्पन्न भए पनि नदीको धार परिवर्तन गरी पुलमुनिबाट पानी बगाउने काम बाँकी रहेकाले सञ्चालनको समय केही पछाडि सारिएको हो ।
हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरका अनुसार मङ्सिरको पहिलो सातादेखि नै पुल सञ्चालनमा ल्याउने तयारी गरिएको थियो । तर, नदीको धार परिवर्तन गर्ने काममा अपेक्षाभन्दा बढी समय लागेपछि मङ्सिरको तेस्रो सातादेखि मात्र पुलबाट नियमित यातायात सञ्चालन गर्ने तयारी गरिएको हो ।



पुलमा एक्सपान्सन ज्वाइन्ट, नदीको प्यानालाइजेसन तथा रेलिङ निर्माणको काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । हाल नदीको पूर्वी किनारतर्फबाट बगिरहेको पानीको धार परिवर्तन गरी पुलमुनिबाट बगाउने काम भइरहेको छ । यसका लागि एक सातादेखि निरन्तर काम भइरहेको हुलाकी राजमार्ग योजना कार्यालयका प्रमुख कृष्णकुमार महतोले जानकारी दिनुभयो ।
उहाँका अनुसार दीपावली र छठ पर्वका कारण कामदार घर गएको तथा नदीमा पानीको बहाव बढेकाले निर्माण कार्य केही प्रभावित भएको हो । नदीको धार परिवर्तन गर्न बाँस र जस्तापाताको प्रयोग गरेर कामलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।
“पहिलो चरणमा पैदलयात्री र मोटरसाइकललाई पुल प्रयोग गर्न दिने तथा मङ्सिरको तेस्रो सातादेखि सबै प्रकारका सवारीसाधन सञ्चालन गर्ने गरी तयारी भइरहेको छ,” उहाँले भन्नुभयो ।
यसअघि मङ्सिर २ गते भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालबाट पुल उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो । तर, नदीको धार परिवर्तन गर्ने काममा थप समय लाग्ने भएपछि उद्घाटन तथा सञ्चालनको कार्यक्रम मङ्सिरको तेस्रो साताका लागि सारिएको कार्यालयले जनाएको छ ।
कमला नदीको पुल निर्माण कार्य करिब डेढ दशकदेखि अलपत्र अवस्थामा थियो । यस वर्ष भौतिक पूर्वाधार मन्त्रालयले पुल निर्माणका लागि २५ करोड रुपियाँ विनियोजन गरेपछि निर्माण कार्यले गति लिएको हो । पुल सञ्चालनमा ल्याउन भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल र प्रधानमन्त्री वालेन्द्र शाहले समेत चासो देखाउनुभएको सांसद बब्लु गुप्ताले बताउनुभयो ।
पप्पु–लुम्बिनी बिल्डर्सले पुल निर्माण सम्पन्न गरी उद्घाटनको तयारी गरिरहेका बेला २०७८ असार १७ गते आएको बाढीले पुलका पूर्वी र पश्चिमी दुवैतर्फका पाया भासिएका थिए । त्यसपछि पुल प्रयोगविहीन अवस्थामा पुगेको थियो ।
लामो समयदेखि पुल सञ्चालनमा नआउँदा धनुषा र सिराहाका स्थानीयवासीले आवागमनमा सास्ती बेहोर्दै आएका छन् । पुल सञ्चालनमा आएपछि दुई जिल्लाबीचको आवागमन सहज हुनुका साथै व्यापार, व्यवसाय र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।




