महोत्तरी – महोत्तरीको गौशाला नगरपालिकामा शुक्रबारदेखि तेस्रो मेयर कप नगरस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। नगरपालिकाको आयोजनामा गौशालास्थित बिर्ता खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन नगरप्रमुख डा.दीपेन्द्र महतोले गर्नुभयो।
प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख महतोले पछिल्लो समय युवापुस्ता लागुऔषध दुर्व्यसनको सिकार बन्दै गएकाले उनीहरूलाई खेलकुदतर्फ आकर्षित गर्नुपर्ने बताउनुभयो। खेलकुदले युवामा अनुशासन कायम गर्नुका साथै शारीरिक तथा मानसिक स्वास्थ्य सुधार गर्न र सामाजिक विकृति न्यूनीकरणमा सहयोग पुर्याउने उहाँको भनाइ थियो।




‘बिना उद्देश्य गाउँघरमा समय बिताउने युवालाई खेलकुदमा आकर्षित गर्नुपर्छ। अहिले देखासिकीका कारण गाँजा, ट्याब्लेटलगायतका लागुपदार्थ सेवन गर्ने युवाको सङ्ख्या बढ्दै गएको छ, जुन समाजका लागि गम्भीर चुनौती हो,’ उहाँले भन्नुभयो।
विद्यालय जाने उमेरका युवासमेत अभिभावकको निगरानी र मार्गदर्शनको कमीका कारण दुर्व्यसनमा फस्दै गएको उल्लेख गर्दै उहाँले परिवार, विद्यालय, समाज र स्थानीय सरकार सबैले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो।

युवालाई खेलकुदमा सहभागी गराएर लागुऔषध दुर्व्यसनबाट टाढा राख्ने नगरपालिकाको लक्ष्य रहेको उहाँले बताउनुभयो। दुर्व्यसनमा फसेका युवालाई आवश्यक परामर्श, उपचार र पुनःस्थापनामार्फत पुनः विद्यालय तथा समाजमा फर्काउने र लागुऔषधको अवैध कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याउन नगरपालिका प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।
नगरप्रमुख महतोले नेपाल प्रिमियर लिग (एनपीएल) का कारण देशभर क्रिकेटप्रति आकर्षण बढेको र त्यसको प्रभाव मधेसमा समेत देखिएको बताउनुभयो। गौशाला नगरपालिकाले पनि सुरुदेखि नै खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै नियमित रूपमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो।
क्रिकेटको विकासका लागि नगरपालिकाले क्रिकेट एकेडेमी स्थापना गर्ने परिकल्पनासहित बजेट विनियोजन गरे पनि केही कानुनी जटिलताका कारण काम सुरु हुन नसकेको उहाँले बताउनुभयो। एकेडेमी स्थापनाको योजना भने कायमै रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी अघि बढाइने उहाँको भनाइ थियो।

नगरपालिकाले आफ्नै पुरुष क्रिकेट टिम निर्माण गरिसकेको छ। नगरपालिकाका १२ वटै वडाबाट खेलाडी छनोट गरी तयार गरिएको उक्त टिमका खेलाडीलाई गत वर्षदेखि मासिक तीन हजार रुपियाँ प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको र यस वर्ष पनि निरन्तरता दिइने नगरप्रमुख महतोले बताउनुभयो। खेलाडीलाई नियमित प्रशिक्षण दिनुका साथै जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।
यसअघि सञ्चालन गरिएका पहिलो र दोस्रो मेयर कप प्रतियोगितामा देखिएका कमी–कमजोरी सुधार गर्दै तेस्रो प्रतियोगितालाई थप व्यवस्थित बनाउने प्रयास गरिएको उहाँले बताउनुभयो। प्रतियोगिता सुरु हुनुअघि १२ वटै वडाका क्रिकेट टिमका व्यवस्थापक र कप्तानसँग छलफल गरी विगतका समस्या, खेल व्यवस्थापन र आगामी योजनाबारे सुझाव सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो। खेलाडीले राखेका गुनासा र सुझावलाई सम्बोधन गर्दै प्रतियोगितालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको उहाँको भनाइ थियो।

पुरुष क्रिकेटसँगै गौशाला महिला क्रिकेट टिमले पनि पछिल्लो दुई वर्षमा राम्रो प्रगति गरेको नगरप्रमुख महतोले बताउनुभयो। गौशाला नगरपालिका र पैरवी मञ्चको सहयोगमा महिला क्रिकेट खेलाडीलाई करिब साढे दुईदेखि तीन महिनासम्म प्रशिक्षण प्रदान गरिएको थियो। महिला खेलाडीलाई जर्सी, ज्याकेट, जुत्ता, ब्याट र बललगायतका खेल सामग्री उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो।
पुरुष क्रिकेट खेलाडीलाई दिइँदै आएको प्रोत्साहनजस्तै आगामी दिनमा महिला क्रिकेट खेलाडीलाई पनि आर्थिक प्रोत्साहन वा मासिक स्टाइपेन्ड उपलब्ध गराउने योजना रहेको उहाँले बताउनुभयो। यसका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था मिलाइने उहाँको भनाइ थियो।
नगरपालिकाले राष्ट्रियस्तरका खेलाडीलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले एक राष्ट्रिय खेलाडीलाई मानार्थ छैटौँ तहको अधिकृतमा नियुक्त गरी गत वर्षदेखि तलब उपलब्ध गराउँदै आएको नगरप्रमुख महतोले जानकारी दिनुभयो।

गौशालामा व्यवस्थित खेलमैदानको अभाव पूर्ति गर्न मरहा पुलपारि पेट्रोल पम्पभन्दा दक्षिणतर्फ रहेको करिब १५ देखि १६ बिघा जग्गालाई खेलमैदानका रूपमा विकास गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो। उक्त जग्गा अतिक्रमण गरी बसेकालाई खाली गराउन सूचना जारी गर्ने र आगामी १० देखि १५ दिनभित्र खेल्न योग्य मैदान निर्माणको काम सुरु गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो। खेलमैदान व्यवस्थापनका लागि चालु आर्थिक वर्षको बजेटमा रोलर खरिद गर्ने व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो।
खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाको शिक्षा तथा युवा खेलकुद शाखामा कार्यरत सुकेश यादवसहित खेलकुदकर्मीले प्रशिक्षण तथा खेलाडीको क्षमता अभिवृद्धिमा योगदान दिइरहेको उहाँले उल्लेख गर्नुभयो। खेलकुद समिति गठन भएपछि खेलकुदसम्बन्धी योजना तथा कार्यक्रमलाई थप व्यवस्थित रूपमा कार्यान्वयन गर्न सहज हुने उहाँको भनाइ थियो।
शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गौशाला नगरपालिका–१ रामनगर र वडा नं. २ निगौलका क्रिकेट टिमबीच प्रतिस्पर्धा भएको थियो। नगरपालिकाका १२ वटै वडाका टिम सहभागी हुने प्रतियोगितामा स्थानीय खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउनेछन्।

उद्घाटन समारोहमा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलप्रेमी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। नगरप्रमुख महतोले प्रतियोगिताको तयारी र व्यवस्थापनमा खटिएका शिक्षा तथा खेलकुद शाखाका कर्मचारी, खेलकुदकर्मी, आयोजक तथा सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभयो।
नगरपालिकाले क्रिकेटसहित समग्र खेलकुदको पूर्वाधार विकास, खेलाडी उत्पादन, नियमित प्रशिक्षण र महिला तथा पुरुष क्रिकेट टिमको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेको जनाएको छ। खेलकुदलाई युवाको प्रतिभा विकाससँगै लागुऔषध दुर्व्यसन नियन्त्रण र सामाजिक विकृति न्यूनीकरणको माध्यम बनाउने नगरपालिकाको लक्ष्य रहेको छ।































