
महोत्तरी - महोत्तरीस्थित जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुमा जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्ततीहरुले वंशजको आधारमा नागरिकता लिने क्रम बढेको छ । पहिलो दिन जिल्ला प्रसासन कार्यालय र इलाका प्रशासन कार्यालय बर्दिवासबाट एक/ एक जनाले नयाँ नागरिकता ऐन बमोजिम नागरिकता लिएकोमा तेस्रो दिन सोहि संख्या एक सय १३ पुगेको छ ।
लामो समयदेखि जन्मसिद्धका सन्ततीले नागरिकता पाउन नसकेकोमा अहिले जन्मसिद्धका सन्ततीलाईसमेत वंशजको नागरिकता दिन थालेपछि नागरिकता लिनेहरुको भिड बढ्न थालेको हो ।
नागरिकता लिन विभिन्न दस्तावेजहरु फारमसँगै बुझाउनु पर्नेमा पहिलो र दोस्रो दिन प्रक्रिया बुझ्न र कागजपत्र जुटाउनमै सेवाग्राही व्यस्त रहेकोमा वडाबाट तथा अन्य स्थानबाट जुटाउनु पर्ने कागजातहरु जुट्दै जाँदा सोहि अनुसार भिड बढ्दै गएको हो ।सोमबारसम्म जिल्ला प्रसासन कार्यालय महोत्तरीबाट ३५,इलाका प्रसासन कार्यालय बर्दिवासबाट ३० र इलाका प्रसासन कार्यालय गौशालाबाट ४८ थान नागरिकता बाँडिएको हो ।
नागरिकता लिनेभन्दा पनि नागरिकताबारे बुझ्नेको भिड धेरै : सहायक प्रजिअ
यता जन्मका आधारमा र आमाको नामबाट नागरिकता लिन चाहनेहरुको भिडभाड जिल्ला प्रसासन कार्यालय र इलाका प्रसासन कार्यालयहरुका बढ्दै गरेको देखिएको छ । अधिकांश फारम लिएर आएकोहरुभन्दा प्रक्रिया बुझ्नेहरुको भिड अत्याधिक रहेको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए ।
उनले नयाँ व्यवस्था भएकोले अझै प्रक्रिया बुझ्न अत्याधिक भिड भइरहेको बताए । उनले नागरिकता लिनेहरुको कागजात चेकजाचमा कुनै कमि कमजोरी नरहेको र एक/ एक प्रक्रिया र कागजात दुरुस्त हुनेहरुकोमात्र काम अगाडि बढेको बताए ।
-नयाँ पत्रिका