
महोत्तरी – लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले टिकापुर घटनाका दोषी ठहर भइ जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरीलाई भेटेका छन् । भण्डारीले शुक्रबार दिउँसो डिल्ली बजार चारखाल करागार पुगेर चौधरीसँग भेट गरेकका हुन् ।
उनीहरुबीच राष्ट्रिय राजीतिको सबाल र समसामयिक बिषयमा छलफल भएको छ । टिकापुर हत्याकाण्डको मुख्य योजनाकार भएको अभियोगमा अदालतबाट सजाय पाएका चौधरीले जेलमै भएका बेला श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा ४ सिट जितेको छ । चुनावी नतिजा लगत्तै विभिन्न दलका नेताले चौधरीसँग भेटघाट बढाएका छन् ।
त्यसैगरी चौधरीलाई प्रचण्ड, नेपाल र भट्टराईले पनि भेटेका छन् ।
सत्तागठबन्धनले सुविधानजक बहुमतका लागि जसपा, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदतिर पनि नजर लगाएको छ । गठबन्धनमा तान्ने लक्ष्यसहित नै माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागारमै पुगेर नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग भेट गरिसकेका छन् ।
प्रचण्डले सोमबार तथा नेपाल र भट्टराईले मंगलबार भेटेका हुन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तीन सिट जितेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा भने थ्रेसहोल्ड कटाउने सम्भावना देखिँदैन ।
गठबन्धनका नेताहरूले जेलमै भेटेर तथा टेलिफोनमार्फत सरकारमा सहकार्यको प्रस्ताव गरेको नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए । तर, सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग भने कुनै भेटघाट नभएको उनको भनाइ छ । श्रेष्ठ काठमाडौंमै छिन् ।
‘हाम्रो पहिलो प्राथमिकता सरकार होइन, हाम्रा माग मुद्दा सम्बोधन हुने अवस्थामा जान पनि सकिन्छ । तर, हामीले अहिले केही सोचेका छैनौँ,’ उनले भने, ‘गठबन्धनका नेताहरूले जेलमा गएर भेटेको जानकारी छ । यसबाहेक नेताहरूले अध्यक्ष र पार्टीका अन्य नेताहरूसँग भेटेर छलफल गरेका छैनन् ।’
त्यस्तै, दुई सिट रहेको प्रभु साह समूह र अमरेशकुमार सिंहसँग पनि गठबन्धनका नेता सम्पर्कमा छन् । यसबाहेक देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग समेत टेलिफोन सम्पर्क गरेर सरकारमा सहकार्यका लागि प्रस्ताव गरेको उनीनिकट स्रोतले बतायो । जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीसँग भने कांग्रेसले औपचारिक सहकार्यका लागि प्रस्ताव गरेको छैन ।