बर्दिबास नगरपालिकाले आर्थिक वर्ष ०८३/८४ लागि १ अर्ब ११ करोड ६९ लाख ५०० रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
मंगलबार सम्पन्न नगरपालिकाको १८औँ नगर अधिवेशनमा नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री ले आगामी आर्थिक वर्षका लागि कुल १ अर्ब ११ करोड ६९ लाख ५ सय रुपैयाँ बराबरको बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
नगरपालिकाले ०८३/८४ लागि ल्याएको नीति तथा कार्यक्रममा नगरपालिकामा वर्षाै देखि को एलानी तथा अव्यवस्थित बसोबासीलाई सेतो पुर्जा (निष्शा) वितरण गर्ने कार्यलाई पहिलो प्राथमिकता दिएको छ।




नगर प्रमुख क्षेत्रीले नगर अधिवेशनलाई सम्बोधन गर्नु हुँदै बजेटले भूमिसम्बन्धी समस्या समाधानलाई मुख्य तथा विशेष प्राथमिकतामा राखेको बताउनुभयो।
नगरसभामा प्रस्तुत बजेटले नगरवासीका आधारभूत आवश्यकता सम्बोधन गर्दै दिगो विकास, सामाजिक न्याय र समावेशी विकासलाई केन्द्रमा राखेको नगर प्रमुख क्षेत्रीले बताउनुभयो। भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान नगरपालिकाको प्रमुख दायित्व रहेको उल्लेख गर्दै उहाँले सेतो पुर्जा वितरणको प्रक्रिया आगामी श्रावण महिनाभित्रैबाट तीव्र रूपमा अघि बढाइने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ” शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, महिला, बालबालिका तथा समाज कल्याण, सहकारी, कृषि तथा पशुपन्छी विकास, सडक तथा यातायात, विद्युत, सिँचाइ तथा भूमि व्यवस्थापन, वातावरण संरक्षण, सरसफाइ तथा विपद् व्यवस्थापनका क्षेत्रलाई उतिकै प्राथमिकतामा समेटिएको छ।”
त्यसैगरी कला तथा संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन, लागूऔषध नियन्त्रण तथा रोकथाम तथा सुशासन प्रवर्द्धनलाई समेत बजेटका कार्यक्रमका रूपमा अघि सारिएको नगर प्रमुख क्षेत्रीले जनाउनुभयो ।
अधिवेशनमा प्रमुख अतिथिका रूपमा बोल्दै मधेश प्रदेशकी श्रम तथा यातायात म न्त्री शारदादेवी थापाले आफू बर्दिवाससँग प्रत्यक्ष रूपमा जोडिएको व्यक्ति भएकाले नगरपालिकाको विकास, नीति तथा कार्यक्रमप्रति विशेष चासो रहेको बताउनुभयो। स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर ल्याइएका योजना प्रभावकारी कार्यान्वयन हुन सके नगरवासीले प्रत्यक्ष लाभ प्राप्त गर्ने उहाँको भनाइ थियो। उहाँले नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सफल बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहनुपर्नेमा जोड दिनुभयो ।




