काठमाण्डौं- गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा चितवनका गुरुङ र शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएका छन्। उनले प्रेस विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गरेको जनाएका छन्।
यसअघि राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी थिइन्। दुवै जनालाई केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्तिका लागि सिफारिश गरेको थियो।
आज बसेको मन्त्रिपरिषद् बैठकले पौडेल र यादवलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। उनीहरूको ठाउँमा गुरुङ र शेरचनलाई नियुक्तिका लागि सिफारिश गर्ने समेत निर्णय गरेको थियो।