
महोत्तरी। महोत्तरीमा सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन चलाउन पास लिनुपर्ने नियम लागु भएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिना पास सवारी साधन चलाएको पाइए सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिने नियम लगाएको हो । सार्वजनिक बिदाका दिन सवारी चलाउन जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनु पर्ने प्रावधान लागु गरेको हो । बिना अनुमतिको सरकारी नम्बर प्लेटको सवारी साधन नचलाउन जिल्ला प्रशासन कार्यालय महोत्तरीले मंगलबार सूचना जारी गरी सबैमा जानकारी गराएको छ । जिल्लाका सबै स्थानीय तह, सबै सरकारी कार्यालय र सार्वजनिक संस्थानका सवारी साधनलाई बिदाका दिन अनुमति लिनुपर्ने प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ । ‘कोही कसैले सार्वजनिक बिदाको दिन सरकारी साधनको प्रयोग गरेको पाइएमा तथा सरकारी कामबाहेक अन्य प्रयोजनमा प्रयोग भए गरेको पाइएमा खटिएका सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिने प्रशासनले जनाएको छ । सरकारी अस्पताल, सरकारी एम्बुलेन्स तथा सुरक्षा निकायका सवारी साधनलाई भने अनुमति लिनु नपर्ने भएको छ । यस्तै, सरकारी कार्यको सिलसिलामा काठमाडौं लगायत विभिन्न जिल्लामा जानुपर्ने भएमा समेत अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र लिन भनिएको छ ।