महोत्तरी- महोत्तरीमा रहेका क्रसर व्यवसायीहरूलाई आफ्नो स्टक प्रमाणित एक साताभित्र गराइसक्न समय तोकिएको छ । जिल्ला अनुगमन समितिको प्रमुखको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसमेतको उपस्थितिमा सात दिनभित्र स्थानीय पालिकामार्फत स्टक प्रमाणित गराउन भनि बैठक बसेर समय तोकेको हो ।
स्टक प्रमाणित नभई बजारमा आउने यस्ता ढुंगागिटी प्रहरीले नियन्त्रणमा समेत लिने जिल्ला समन्वय समितिका कार्यकारी अधिकृत रामुराज कडरियाले बताए । उक्त निर्णय बिहीबार भएको हो ।
महोत्तरीमा अवैध र अनियन्त्रित उत्खननबारे बारम्बार समाचार प्रकाशन भएपछि यसलाई नियन्त्रण गर्न स्टक प्रमाणितले सघाउनेछ । तर, हरेक वर्ष स्टक प्रमाणितकै लागि निर्णयहरू हुने गरेकोमा विगतमा केही पालिकाले बेवास्ता गर्दै आएकोमा यसपटक भने स्टक प्रमाणित प्रक्रियालाई भने कडा गर्ने अधिकृत कडरियाले बताए ।
उनले अहिले पनि अवैध रूपमा नदी उत्खनन गर्ने र काजगपत्रविना बालुवा, गिटी ओसारपसार गर्नेहरूलाई नियन्त्रणमा लिई कारबाही भइरहेको जनाउँदै अबैध उत्खननप्रति जिल्ला समन्वय समिति,जिल्ला प्रसासन कार्यालय तथा सुरक्षा निकायहरू संवेदनशील भएको र सोहीअनुसार कारबाहीको तयारी भएको बताए ।
निर्णय कार्यान्वयन गराउन पालिकाहरूले सहज भूमिका निभाउनेमा आफू विश्वस्त रहेको कार्यकारी अधिकृत कडरियाले बताए ।