जनकपुरधाम । पत्रकारहरूलाई सञ्चारगृहमै प्रवेश गरी विभिन्न बहानामा पक्राउ गर्ने तथा नियन्त्रणमा लिने कार्यको विरोधमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा देशभरका ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गरिएको छ।

यसैक्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ताको नेतृत्वमा जनकपुरधाममा पनि विरोध प्रदर्शन गरिएको छ।



महासंघ धनुषा शाखाको कार्यालय परिसरबाट निस्केको विरोध जुलुस नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा पुगेर विरोध कार्यक्रममा परिणत भएको थियो।
प्रदर्शनमा वरिष्ठ पत्रकार तथा स्वतन्त्रता सेनानी रामभरत साह, पत्रकार धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघ धनुषा शाखाका सचिव बटुकनाथ झा, पत्रकार ध्रुवकुमार झा, शैलेन्द्र झा, राजन सिंह, दिपेश मल्लिक, नवीन प्रदर्शी, प्रमोद साह, रंगीले भगलु मण्डललगायत करिब चार दर्जन पत्रकारहरूको सहभागिता रहेको थियो।
त्यस्तै महिला पत्रकारहरू चाँदनी झा, रिंकु, गायत्री मिश्र र माला रायलगायतको पनि उल्लेख्य उपस्थिति थियो।
‘पत्रकारलाई पक्राउ गर्ने हो भने सामूहिक गिरफ्तारी देऊ’ भन्ने नारासहित प्रदर्शनमा उत्रिएका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीसमक्ष आफ्ना गुनासा तथा मागहरू राखेका थिए।

सो क्रममा प्रदर्शनकारी पत्रकार र सुरक्षाकर्मीबीच केहीबेर सामान्य घम्साघम्सीसमेत भएको खबर प्राप्त भएको छ।
पत्रकारमाथि हुने धरपकड बन्द गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा निर्बाध रूपमा पत्रकारिता गर्ने वातावरण सुनिश्चित गर्न माग गर्दै पत्रकारहरूले विरोध प्रदर्शन गरेका हुन्।




