
जनकपुरधाम- मधेस प्रदेश सरकारको जनता अवास कार्यक्रमकै माेडेलमा महेन्द्र नारायण निधि आवास कार्यक्रम अन्तर्गत निर्माण निकै सुस्त गतिमा देखिएको छ ।
उक्त कार्यक्रम अन्तर्गत गत वर्ष नै सम्झौता भएका भवनहरुको निर्माण अझै सम्पन्न हुन सकेको छैन् ।
भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका अनुसार सम्झौता भएका भवनहरु अझै पूर्ण रुपमा सम्पन्न हुन नसकेको जनाएको छ ।
गत वर्ष भवन डिजिभन कार्यालय जनकपुरधामले धनुषामा ८४, महोत्तरीमा ८२ र सर्लाहीमा ८३ गरी २ सय ४९ घरको निर्माणको लागि सम्झौता गरेको थियो । तर त्यस मध्ये अहिले सम्म एउटा पनि घरकाे निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन् ।
भवन डिजिभन कार्यालय जनकपुरधामका योजना अधिकृत पशुपति कर्णका अनुसार अधिकांश योजना गत वर्षको असारमा मात्रै सम्झौता भएकोले निर्माण कार्यमा खासै प्रगति हुन नसकेको बताए।
महेन्द्र नारायण निधि आवास योजनाको कार्यविधिमा सम्झौता भएको ६ महिना भित्रमा उक्त भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर यस हिसाबले सम्झौता भएको ५ महिना भईसक्दा पनि अधिकांश घरकाे जगसम्म मात्रै निर्माण हुन सककेको छ भने धेरै ठाउँमा भवन निर्माणको लागि अहिले सम्म शिलान्यास समेत हुन सकेको छैन ।
धनुषा र महोत्तरीको भन्दा सर्लाही जिल्लामा सो कार्यक्रम झन सुस्त देखिएको छ ।
धनुषाको नगराईन नगरपालिका लगायतका स्थानमा कार्यहरुले गति लिएको बताउदै योजना अधिकृत पशुपति कर्णले भने, ‘पहिलाे चरणमा सम्झौता भएकाहरुको कार्य अगाडि बढेको छ भने पछि सम्झौता भएका भवनहरुको मात्रै निर्माणमा ढिलाई भएको छ । निर्वाचन पश्चात ती कार्यहरु पनि तिव्रता पाउने छ ।’
प्रदेश सरकारले महेन्द्र नारायण निधि आवास कार्यक्रम अन्तर्गत एउटा कार्यक्रमको लागि ५ लाख ६० हजार रकम विनियोजन गरिएकाे छ । भवन निर्माणको लागि तीन चरणमा प्रदेश सरकारले रकमको भुक्तानी दिने गरेको भौतिक पुर्वाधार मन्त्रालयका इन्जिनियर सुम्मि मिश्राले जानकारी दिईन् । पहिलो किस्ता ३५ प्रतिशत, दोस्रो किस्ता ५० प्रतिशत र अन्तिम किस्ता १५ प्रतिशत दिने प्रवधान रहेको इन्जिनियर मिश्राले बताईन्।
महेन्द्र नारायण निधि आवास योजना अन्तर्गत गरिव विपन्न, असहाय एकल महिलालाई दुई कोठा, एक भान्सा घर, एक शौचालय र एक चपाकल निर्माण गरिदिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमको लागि प्रत्येक जिल्लामा ३ करोडको दरले प्रदेश सरकारले चालु आर्थिक वर्षमा रकम विनियोजन गरेको योजना अधिकृत कर्णले जानकारी दिए।