प्रहरी हिरासतमा भएको थुनुवा मृत्यु घटनाको निष्पक्ष छानविनको माग गर्दै स्थानीयबासिन्दाले दुईघण्टा जनकपुर ढल्केवर सडक खण्ड अवरुद्ध गरेका छन् ।
धनुषाको लक्ष्मीनियामा आज साँझ ५ बजेदेखि ७ बजेसम्म स्थानीय बासिन्दाले सडक जाम गर्दै प्रदर्शन गरेका हुन् ।
घटनाको निष्पक्ष छानविन, दोषीमाथि कारबाही तथा क्षतिपुर्तिको माग गर्दै स्थानीयबासीले सडकजाम गरेका छन् ।
दाजुभाइको विवादमा ज्यानमार्ने तथा अंगभंग मुद्दामा पक्राउ परेका धनुषाको लक्ष्मीनिया गाउँपाकिला २ सिनुरजोडाका ४२ वर्षीय पल्टु रविदास शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षको शौचायमा मृत फेला परेका थिए ।
शौचालयको पासो गञ्जीले पासो लागि झुन्डिएको अवस्थामा रविदास मृत भेटिएका थिए । परिवारजन र गाउँलेले रविदासको हत्या भएको दावी गरेका छन् । प्रहरीले उनले अात्महत्या गरेको बताएका छन् ।
आफन्तजन तथा गाउँलेले शुक्रबार पनि जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी प्रदर्शन गरेका थिए ।
धनुषा जिल्ला अदालतले रविदासलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर विपन्नताको कारण रकम बुझाउन नसक्दा उनी कारागारमै रहन बाध्य भएका थिए।
सिन्धुली कारागार पठाउने तयारी भइरहेका बेला उनी हिरासतमै मृत भेटिए थिए ।