धनुषा। धनुषाको जिल्ला प्रहरी कार्यालय हिरासतमा थुनुवामा रहेको पल्टु रबिदास झुण्डिएको अवस्थामा मृत फेला परेको घटनामा दुई प्रहरीलाई कारबाही गरिएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रलाई प्रदेश प्रहरी कार्यालय तानिएको छ भने सेन्ट्री बसेका प्रहरी जवानलाई निलम्बन गरिएको छ । प्रदेश प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारले घटनाको छानविनका लागि डिएसपीलाई जिल्ला तानेको र इन्ट्री बसेका प्रहरीलाई निलम्बन गरिएको बताए ।
उनका अनुसार घटनामा दोषी ठहर नभएपछि प्रहरीको निलम्बन फुकुवा हुनेछ । घटनाको छानविन चलिरहेकाले प्रभावित नहोस् भनेर डिएसपी मिश्रलाई प्रदेशमा तानिएको छ ।
लक्ष्मीनियाँ गाउँपालिका २ का ४० वर्षीय थुनुवा रबिदास साउन १५ गते विहान झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । त्यसपछि पीडित परिवार, दलित अधिकारकर्मीहरु र लक्ष्मीनियाँबासी घटनाको छानविन र क्षतिपूर्ति माग्दै आन्दोलन गरिदै आएको थियो ।आज मात्रै जिल्ला प्रशासन कार्यालय धनुषामा पीडित परिवार र प्रशासनबीच दुई बुंदै सम्झौता भएको छ ।
राहतका लागि सरकारलाई सिफारिस पठाउने र उच्च स्तरीय छानविन गरिने सम्झौतापछि पीडित परिवार शव बुझ्न सहमत भएको बुझिएको छ ।