
जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा)नेपालको अध्यक्ष रहेको दावी गर्दै महन्थ ठाकुरले नयाँ दल गठनको गृहकार्य थालेका छन् ।
सर्वोच्च अदालतमा हालेको रिटमा अन्तरिम आदेश जारी नभएपछि अर्को दल गठनको गृहकार्यमा ठाकुर समुहले काम अगाडी बढाएको छ ।
ठाकुर र शरतसिंह भण्डारी विहिवार जनकपुरधाम आएर धनुषामा पूर्व राजपाका नेताहरुलाई जोड्ने प्रयत्न गर्नेछन् ।त्यसकालागि पूर्व राजपामा रहेका पदाधिकारी, प्रदेश सभासदस्य, पालिकाका जनप्रतिनिधि, केन्द्रिय सदस्यहरु, जिल्लाका प्रतिनिधिहरुसित ठाकुर र भण्डारीले आन्तरिक छलफल गर्ने स्रोतले जनाएका छन् । स्रोतका अनुसार जिल्लामा समन्वय र बैठक गर्न मोटो रकम ठाकुर समुहले खर्चिरहेको छ ।महँगा होटेलहरुमा बैठक र ठाकुर– भण्डारीलाई विमानस्थलमा स्वागत गर्न भीड जुटाउन आवश्यकता भन्दा बढी रकम उपलब्ध गराइएको स्रोतले जनाएका छन् । पूर्व राजपाको धनुषामा रहेका चार दर्जन बढी केन्द्रिय सदस्य मध्ये तीन दर्जन बढीको बैठकमा सहभागिता रहेको प्रदेश सभासदस्य परमेश्वर साहले बताए ।‘
जसपाको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको फैसला गलत रहेकाले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएकोछ’उनले भने, अदालतको फैसला नआए सम्म हामीपनि जसपा नै छौ । ‘पार्टीको आधिकारिकता जसपाका अध्यक्ष उपेन्द्र यादव समुहलाई दिएपनि महन्थ ठाकुरलाई अध्यक्षबाट हटाइएको छैन्’ साहले भने, भेलामा पार्टीमा कानुनी हैसियत, राजनीतिक अवस्था लगायतका विषयमा नेताहरुले जानकारी दिने छन् । स्रोतका अनुसार ठाकुरले बैठकबाट दल गठन गर्न सक्ने शक्तिको अनुमान गर्ने छन् ।उनीहरुले महोत्तरी जिल्लामा शुक्रवार बृहत्त बैठक बोलाएका छन् ।जसपाको अध्यक्ष कै रुपमा ठाकुरलाई प्रचार गरिएको छ ।बैठकमा पूर्व राजपालाई बोलाएपनि ठाकुरलाई जसपाको अध्यक्ष र सिंहलाई नेताको रुपमा प्रचार गरिदैछ । तर राजपाका पूर्व अध्यक्ष एवं हाल जसपाका महोत्तरी जिल्ला अध्यक्ष रहेका नागेन्द्र यादवले जसपाको जिल्लामा कुनै भेला आयोजना नभएको बताएका छन् ।
‘साउन २१ गते जिल्ला स्तरीय बृहत्त भेला बोलाइएकोछ’ उनले भने, २२ गते जसपाको महोत्तरीमा कुनै कार्यक्रम छैन् । यादव समुहले कार्वाही नगरे सम्म जसपामै रहेर अर्को दल गठनको तयारी गर्ने रणनीति ठाकुर समुहले बनाएको छ ।जसपा छाड् दा सांसद पद समेत खारेज हुने भएकाले जसपामै रहेर अलगै अभियान चलाउने रणनीति अनुसार नै धनुषा र महोत्तरी जिल्लामा संगठनात्मक शक्तिको अनुमान गर्न भेला आयोजना गरिएको छ । सभासद साहका अनुसार भेलामा ठाकुरका अतिरिक्त सांसदद्वय राजेन्द्र महतो, शरतसिंह भण्डारी र प्रदेश सभासदस्य बाबुलाल साह रहने छन् ।जसपामा ठाकुर अध्यक्ष, महतो वरिष्ठ नेता, भण्डारी र साह कार्यकारिणी सदस्य छन् ।
पूर्व राजपाका दुई जना संयोजक महेन्द्र राय यादव र राजकिसोर यादव आधिकारिक समुहमा सकृय छन् ।उनीहरुको पूर्व राजपामा रहेको जिल्ला स्तरीय संगठन समेत आधिकारिक समुहमा विलय भइसकेको छ । धनुषा जिल्लामा जसपाको कुनै बैठक नभएको र कार्वाहीमा परेका केहि व्यक्तिहरुले भ्रम सृजना गरिरहेको आरोप जसपाका अध्यक्ष पशुपति यादवले लगाएका छन् ।‘निर्वाचन आयोगले आधिकारिक घोषणा गरेको उपेन्द्र यादव एकल अध्यक्ष बाहेक पार्टीमा अर्को अध्यक्ष रहेका छैनन्’ उनले भने, अनधिकृत रुपमा कसैले जसपाको नाममा भेला आयोजना गर्नु अवैधानिक र कार्वाहीको भागी हुने छ ।उनले अनधिकृत भेला, बैठकमा सहभागि नहुन जसपाका नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।