महेन्द्रनगर - धनुषाको महेन्द्रनगरमा लाखौंको चोरी भएको छ । क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरको गिरि टोल बस्ने ५० मोहन परियारको घरमा कोहि नभएको मौका छोपी चोरी भएको हो । पीडित परियारका अनुसार आफूहरु सबै परिवार ससुराको श्राद्ध कर्ममा ससुराली गएको बेला १९गते राती ताल्चा फुटाएर चोरी गरिएको छ ।
महेन्द्रनगर चोकमा गुड लक टेलर्स संचालन गर्दै आएका परियारले जनाए अनुसार चोरले घरको मुल गेटको ताल्चा फोडेर चोरी गरेको हो । पीडितले घरको दराजमा राखिएको ६ तोला जति सुन र ४७ तोला जति चाँदीको गरगहनाको साथै नगद साढे ३ लाख सहित लताकपडा, भाडाकुँडा सबै गरी करिब १२ लाख रुपैयाँ बराबरको चोरी भएको बताए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट करिब ५०० मिटरको दुरीमा रहेको परियारको घरमा गिरि टोलको बीचमा भएपनि चोरी हुनुलाई स्थानीयले आश्चर्य मानेका छन् ।
घरमा कोहि नभएको थाहा पाए कै कोहि जानीबुझी रहेका ट्याबे मुन्द्रेहरुको केटाहरुको चोरी संलग्नता भएको हुनु पर्ने परियारले आशंका व्यक्त गरेका छन् । उनले आफूले इप्रकामा उजुरी दर्ता गराए पनि अहिले सम्म कुनै खासै खोजतलास नभएको गुनासो व्यक्त गरेका छन् ।
पछिल्लो केहि महिना यता कोराना महामारीको लागि जारी गरिएको लामो समयको लकडाउनको कारण केहि दुव्र्यसनमा लागेका युवाहरुले यस्ता चोरी डकैतीको घटनामा संलग्न हुने गरेको विभिन्न घटनाहरुमा पक्राउ परेपछि देखिएको छ ।
परियारको घर भएको टोलमा पनि केहि यस्ता दुव्र्यसनी केटाहरु घुमफिर गर्ने गरेको र तिनिहरुले युवतीहरुलाई जिस्काउने र युवतीहरुको धाएर सुकाउन राखेका लत्ताकपडाहरु कैची वा ब्लेड काटेर फ्याकिदिने जस्ता घटनाहरु गर्ने गरेको स्थानीयले जनाएको छ । यद्यपी उनिहरुले यस्ता घटनाहरु बारे प्रहरीमा खबर नगरेको कारण त्यस्तै ग्यांगबाट यो चोरीको घटना गरिएको हुन सक्ने स्थानीयले आशंका व्यक्त गरेका छन् ।
इप्रका महेन्द्रनगर घटना बारे अनुसन्धान भईरहेको जनाएको छ ।