
धनुषा — धनुषा लक्ष्मीनिया गाउँपालिका–४ सपही २२ वर्षीया प्रियंका देवीको हत्या आरोपमा श्रीमान् सन्तोष पासवान पुर्पक्षका लागि जेलमा छन् । अरू महिलासँग सम्बन्ध रहेको आशंकामा पतिपत्नीबीच झैझगडा भइरहन्थ्यो । त्यही क्रममा गत असार ४ गते राति दुवैबीच झगडा भयो । श्रीमान्ले घाँटी थिच्दा प्रियंकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले बताए ।
‘दिनभर ट्याक्टर चलाएर राति घर फर्किएका पासवानले श्रीमतीलाई खाना पस्किन भने,’ प्रहरी निरीक्षक सुनारले भने, ‘सुत्न गएकी प्रियंका खाना दिन नआएपछि श्रीमान् पनि रिसाउँदै सुत्न गएछ । राति सुत्ने क्रममै दुवैबीच भनाभन भयो । विवादकै क्रममा घाँटी थिच्दा श्रीमतीको मृत्यु भयो ।’ प्रियंकाको हत्या आरोपमा पक्राउ परेका पासवानलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाएको प्रहरी निरीक्षक सुनारले बताए । प्रियंकाको हत्याका कारण श्रीमान्को अन्य महिलासँग सम्बन्ध भएको प्रहरीको आशंका छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रियंकाजस्तै धनुषामा पछिल्लो एक वर्षयता ४ जना महिलाको आफ्न्त र परिवारकै सदस्यबाट हत्या भएको छ । श्रीमान्बाटै ३ जना र साथीबाट १ जनाको हत्या भएको हो । श्रीमान्–श्रीमतीबीचको सम्बन्ध राम्रो नहुँदा लामो समयसम्म विवाद भई महिलाको हत्या भएको देखिन्छ । सासुससुरा, श्रीमान्, देवर र चिनजानका व्यक्तिबाट पनि महिलाको हत्या हुने क्रम बढ्दो छ । पहिले मधेसमा विशेषगरी दाइजोका कारण महिलाको हत्या हुने गरेको भए पनि पछिल्लो समय भने यौन र विवाहेत्तर सम्बन्ध प्रमुख कारण भएको प्रहरीको दाबी छ ।
महोत्तरीमा केही दिनअघि महिलाको शव सेफ्टी ट्यांकीमा गाडिएको अवस्थामा फेला पर्यो । लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको हत्या आरोपमा प्रहरीले माइत पक्षलाई समेत नियन्त्रणमा लिएको छ । सुजिताको हत्या आरोपमा उनकै बुवा कामेश्वर पाण्डे र देवर रूपेश ठाकुरलगायत पक्राउ परेका छन् । परपुरुषसँग सम्बन्ध राखेको आरोपमा सुजिताको हत्या भएको महोत्तरी प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
प्रदेश २ मा महिला हिंसाको ग्राफ बढ्दो छ । आर्थिक वर्ष २०७७/७८ मा प्रदेशका ८ जिल्लामा एक सय जनाको हत्या भएको थियो, जसमध्ये ८ बालिकासहित ४७ जना महिला छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसार्इंका अनुसार गत आवमा बलात्कारका ३ सय ४० घटना भएका छन् । उक्त अवधिमा बलात्कार प्रयासका १ सय ४ वटा घटना र बोक्सी आरोपमा २३ जनालाई दुर्व्यवहार भएको प्रदेश प्रहरीले जनाएको छ । साथै, १ सय बालविवाहको मुद्दा दर्ता छन् ।
घरपरिवारको विवादमा महिला हत्या बढेको प्रहरीको अनुसन्धानले देखाउँछ । श्रीमान्–श्रीमतीबीचको खराब सम्बन्धले महिलाको ज्यान जोखिममा परेको छ । प्रदेशमा आत्महत्याका घटना पनि बढेका छन् । गत आवमा प्रदेशमा ९ सय ५९ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा पुरुष २ सय ८३, महिला २ सय ५९, बालक ८२ जना र बालिका १ सय ४९ जना छन् । ६ सय ९८ जना झुन्डिएर, २ सय १० जनाले विष खाएर र ३ जनाले आफैंलाई आगो लगाएर आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आत्महत्या गर्नेको उमेर १४ देखि २४ वर्षको समूह बढी छ ।
जनकपुरकी महिला अधिकारकर्मी रेखा झाले परम्परागत सोच, चेतनाको अभावका कारण घरपरिवारकै व्यक्तिबाट महिला हत्याहिंसा बढेको बताइन् । छोराछोरीबीचको विभेदले पनि हिंसाहत्या मौलाएको उनको भनाइ छ । ‘छोराले गलत गर्दा स्वीकार्य हुने परिवारले छोरीलाई गल्ती नै नगर्दा सुनेकै भरमा यातना दिएर हत्या गर्नसम्म पछि पर्दैन,’ उनले भनिन् । पछिल्लो समय घरबाट छुटिएर बस्ने परम्परा, वैदेशिक रोजगारीको विकृति र मोबाइलको दुरुपयोगले पनि महिला हत्या बढेको उनको बुझाइ छ । बुहारीलाई सासूससुराले गलत लाञ्छना लगाउँदा सामान्य विवादमा श्रीमान्–श्रीमतीको सम्बन्ध बिग्रिएर हत्या भइरहेको मानव अधिकारकर्मी राजु पासवान बताउँछन् ।
प्रदेश प्रहरीका प्रमुख डीआईजी उमेश रञ्जितकारले घरघरमा आपराधिक गतिविधि हुँदा महिलाको ज्यान जोखिममा परेको बताए । ‘घरको सामान्य विवाद गम्भीर अपराधमा परिणत भएको छ,’ उनले भने, ‘समयअनुसार अपराधको प्रकृति फेरिएको छ । पछिल्लो समयमा भइरहेको बुहारी र छोरीको हत्यामा इज्जत प्रमुख कारण बनेको पाइएको छ ।’
बुहारीले आत्महत्या गर्दा माइती पक्षले हत्याको जाहेरी ल्याउने र छोरीले प्रेम गरी भागी विवाह गर्दा अपहरण मुद्दा प्रहरी कार्यालयमा ल्याउने मनोविज्ञान भएको समाजमा महिलाको हत्या र आत्महत्या घटनाबारे राज्यले बोल्ने बेला आएको डीआईजी रञ्जितकारले बताए ।