
जनकपुरधाम : विवाह अगावै बच्चा जन्माएकी धनुषाको औरही गाउँपालिका ६ की १६ वर्षीया किशोरी विचल्लीमा परेकी छन् । प्रेममा परेकी मण्डल थरकी ति किशोरी गर्भवती भएपछि नै प्रेमी फरार भए । यद्दपी उनी गर्भ फालिनन् । साउन ८ गते उनी अस्पतालमा बच्चाको जन्म त दिइन् । तर अब बच्चालाई कसरी हुर्काउने भन्ने उनलाई चिन्ता छ ।
ति किशोरीले स्थानीय रबिन्द्र मण्डलले आफूलाई गर्भवती बनाएर फरार भएको बताएकी छन् । गर्भ बसेपछि रबिन्द्र अचानक सम्पर्क विहिन भए । त्यसपछि किशोरीले बाध्य भएर आफ्न्तलाई सबैकुरा बताएकी थिइन् । घटना सार्वजनिक भएपछि गाउँमा पटक पटक समाजका अगुवाहरुले फरार केटाका आमा–बुवालाई बोलाएर छलफल गराए । तर रबिन्द्रका आमा–बुवाले ति किशोरीलाई बुहारी बनाएर राख्न तयार भएनन् ।
स्थानीयका अनुसार रबिन्द्रका आफ्न्तले ति किशोरीलाई गर्भ फालेपछि ५ लाख रुपैया दिनेसम्मको प्रलोभन दिएको थियो । तर किशोरीले रबिन्द्रले विवाह गर्ने वाचा गरेका कारण उनीसँगै बिहे गर्ने अडान छाडेनन् । अहिले पनि उनी रबिन्द्रसँगै जीवन विताउने बताउँछिन् । तर रबिन्द्र अझै सम्पर्कमा आएका छैन । बिवाह नभएकै अवस्थामा उनी बच्चा जन्माएपछि समाजले उनलाई नराम्रो दृष्टिले हेर्न थालेको छ ।
ति किशोरीको घरमा कमाउने कोही छैन । आमा अरुको घरमा मजदुरी गरेपछि जसोतसो परिवार पाल्छन् । उनको बुवाको तीन वर्ष अगाडी नै निधन भइसकेको छ । आर्थिक विपन्नताका कारण जन्म दिएकी बच्चालाई पाल्न उनलाई धौ–धौ परेको छ । १६ वर्षकै कलिलो उमेरमै किशोरीले बच्चा जन्माएका कारण कुपोषणको सिकार हुने सम्भावना पनि छ । चिकित्सकले पौष्टिक आहार खान भनेका छन् । तर उनी आर्थिक विपन्नताका कारण उनी पौष्टिक आहार खान पाएकी छैन । उनलाई तत्कालै आर्थिक सहयोगको खाँचो देखिएको छ ।
अस्पतालमा अप्रेशन गरी बच्चा जन्माउनु परेका कारण ६५ हजार रुपैया खर्च भयो । गाउँकै एक जनासँग सयकडा ४ रुपैयाँ ब्याज दिने सर्तमा ऋण लिएर उनी अस्पतालको बिल तिरेको बताइएको छ । प्रेमको नाममा धोका दिने रबिन्द्रमाथि उनी सुरुमा ईलाका प्रहरी कार्यालय औरहीमा निवेदन दिएकी थिइन् । त्यहाँका प्रहरीले कुनै चासो देखाएनन् । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिइन् । जिल्ला प्रहरीले पनि अहिलेसम्म रबिन्द्रलाई पक्राउ गर्न सकेका छैन । पीडित किशोरीले रबिन्द्रलाई पक्राउ गरेर कारबाही गर्नुभन्दा पनि उनीसँगै घरमा बस्ने वातावरण बनाइदिनुपर्ने बताउँछिन् ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले युवकले गर्भवती बनाएर फरार भएको अवस्थामा बच्चा जन्माइसकेपछि किशोरीले अदालतमा जर्वजस्ती करणी मुद्दा वा नाता कायम सम्बन्धी मुद्दा दिन सकिने बताए । उनले भने, ‘यदि किशोरीले बच्चा माइतमै बसेर हुर्काउन चाहेकी छन् भने अदालतमा जर्वजस्ती करणी मुदा दर्ता गराउन सक्छिन् । र केटासँग बस्न चाहेको अवस्थामा नाता कायम गराउने सम्बन्धी मुद्दा हाल्नुपर्छ । त्यपछि मात्र उनी न्याय पाउने छिन् ।’
स्रोत : टुडे खोज