
जनकपुर- सोमवार जिल्ला अदालत धनुषाले एसिड विक्रेतालाई सफाइ दिएको फैसलामा चित्त नबुझेको भन्दै धनुषा जिल्ला अदालतमा आपत्ति जनाउन पुगेकी एसिड पीडित आरती साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाण्डौंमा रहेकी आरतीले एसिड विक्रेता नागेन्द्र साहलाई अदालतले सफाइ दिएको खबर थाहापाएर केहि बेर अघि जनकपुर आईपुगेकी उनि आफ्नो भाई राजा साह संग धनुषा जिल्ला अदालत पुगेकी थिईन् । उनले एसिड विक्रेता नागेन्द्र साहलाई अदालतले सफाइ दिएर आफूलाई अन्यायमा पारेको बताएकी छिन् । भाइ राजा साहसँग अदालत पुगेकी आरतीलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेको छ । आरतीलाई अदालतको मुख्य गेटमै सुरक्षाकर्मीले रोकेको थियो । ‘प्रहरीले मलाई र मेरो भाइलाई लछारपछार गर्दै नियन्त्रणमा लिएको छ,’ प्रहरी हिरासतमा रहेकी आरतीले फोनमा भनिन्, ‘मलाई अन्याय भएको छ । न्याय नपाएसम्म लडिरहन्छु ।’ अहिले आरती र उनका भाइ राजालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । अदालतमा पुगेर होहल्ला गरिरहेकाले आरती र उनको भाइ राजालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय लिएर आएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले स्वीकार गरे । उनले आरतीसँग सोधपूछ भइरहेको बताए । सोमवार जिल्ला अदालत धनुषाका न्यायाधीश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले एसिड प्रहार गरेको आरतीका श्रीमान् सञ्जीव साहलाई कसुर ठहर गरेको थियो भने सोहि घटनामा पक्राउ परेको एसिड विक्रेता नागेन्द्र साहलाई सफाई दिएको जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगाकुमार मिश्रले जनाएको छ । मिश्रका अनुसार कसुर ठहर गरिएका सञ्जीवलाई तोकिने कैद सजाय र क्षतिपूर्तिका लागि एक महिनाभित्र मै अर्को फैसला हुनेछ । एसिड विक्रेता नागेन्द्र साहले भने सफाइ पाएका छन्, जसलाई थुनछेक बहसपछि धरौटीमा छाडिएको थियो ।