
ढल्केवर। आपसी विवादमा कुटाकुट हुँदा धनुषामा एकजनाको ज्यान गएको छ ।
आपसी विवादमा झै झगडा हुँदा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ सखुवा बजार नयाँ टोलका करिव ३५ वर्षीय ओम मल्लिक डोमको मृत्यु भएको हो । ओमको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा गएराति मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
गएको साउन १८ गते सोमबार राति १० बजेको समयमा आफ्नै छिमेकी २७ वर्षीय राकेश राय कुर्मीसँग ओमको आपसी विवादमा झगडा भएको थियो । झगडाकै क्रममा राकेशले ओमको पेटमा खुकुरी प्रहार गरेका थिए । झगडाकै क्रममा राकेशले ओमको पेटमा आत समेत काटिने गरी कुखुरी प्रहार गरेका थिए भने राकेशको दिदी ३५ वर्षीया रिंकी देवी कुर्मीले टाउँकोमा चिर्पट प्रहार गरेको स्थानीय प्रत्यदर्शीले बताएका छन् ।
स्रोतका अनुसार कुखुरीले पेट काटिएर र टाउकोमा चिर्पटले चोट लागेर गम्भीर अवस्थामा पुगेका ओमको तत्कालै महेन्द्रनगरमा प्राथमिक उपचार गरिएको थियो । तर अवस्था गम्भीर भएपछि जनकपुर रिफर गरिएको थियो । जनकपुरमा समेत उपचार सम्भव नभएपछि धरान रेफर गरिएको र धरानमा पनि अवस्था विग्रदै गएपछि विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरिएको थियो । त्यहाँ उपचारकै क्रममा गएराति ओमको मृत्यु भएको स्थानीयबासीले बताएका छन् । ओमको एक श्रीमति, दुई छोरी र एक छोरा रहेका छन् ।
मृत्तक ओमको श्रीमति मुर्छित छन् भने घरमा रुवावासी छाएको छ । यता ओमको शव महेन्द्रनगर ल्याइदै छ । शव महेन्द्रनगरमा ल्याएर ईलाका प्रहरी कार्यालय महेन्द्रनगर अगाडी हत्यारालाई पक्राउ र कारवाही गर्न दवाव दिने पीडितका आफन्तहरुले बताएका छन् । यता ओमको मृत्यु भएपछि राकेश अहिले फरार भएका छन् भने प्रहरीले पनि घटना विषयमा कुनै चासो नदेखाएको पीडित परिवारजनको गुनासो छ ।
१८ साउनमा झगडा भएको र १९ साउन मंगलबार ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन दिएपनि प्रहरीले हत्याका आरोपी राकेशलाई पक्राउ नगरेको भन्दै पीडित परिवारका आफन्तजन आक्रोशित भएका छन् ।
यसैबीच ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले घटनाको अनुसन्धानका लागि घटनासँग सम्बन्धित एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक तिलक बहादुर सुनारले घटना सम्बन्धमा निवेदन परेको र घाइतेको उपचारको क्रममा मृत्यु भएको खबर लगतै घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताएका छन् । प्रहरी निरिक्षक सुनारले नियन्त्रणमा लिएको व्यक्तिको नाम खुलाउन चाहेनन् ।