महोत्तरी- मनराशिस्वा नगरपालिकाले विशेष पंचकर्म तथा प्राकृतिक चिकित्सा शिविरको आयोजना गरेको छ । मनराशिस्वा नगरपालिकाको नगर आयुर्वेद चिकित्सालयको हलमा आयोजित उक्त शिविर ७ दिन चल्ने छ । मंसिर ६ गते देखि १२ गते सम्म चल्ने शिविरमा ३१ जना सहभागी भएका छन । शिविरमा सहभागी युवा तथा वृद्ध विहान ६ बजे आर्युेवेद चिकित्सालय पुग्छन । चिकित्सालय पुग्दै पहिलो योग क्रिया जलनेतीका लागि स्वास्थ्यकर्मीको टोली नुनयुक्त मनतातो पानी लिएर तयार हुन्छन ।
शिविरमा सहभागी व्यक्ति पहिले जलनेती क्रिया गर्छन जसको अभ्यासले उनको नाकको सरसफाई हुन्छ । नाकको सरसफाई पछि सहभागीहरु लाई गिलोयको रस सेवन गर्न दिइन्छ । त्यसपछि हलमा मधुर गीतको धुनमा सबै सहभागी योगा,प्रणायाम र आसन क्रिया गर्ने गर्छन । जहाँ यो सब अभ्यासमा मनराशिस्वा नगरपालिकाका नगर प्रमुख मोहन पाण्डेय स्वयं उपस्थित हुन्छन सहभागीले गर्ने सम्पूर्ण क्रियाहरु उनले आफु गरेसँगै सहभागीहरुलाई सिकाउने र योगा अभ्यास समेत नगर प्रमुखले गराउने गर्छन ।




मनराशिस्वा नगरपालिका निवासी राम केवल तिवारीले अनुलोम,विलोम,कपालभाति,भातृका जस्ता सहज सामान्य योग क्रिया अत्यन्तै फलदायक रहेको बताउछन । पारालेसिसका समस्याले पिडामा रहेका तिवारी योगा अभ्यास सुरुगरे देखि हात खुट्टा चलाउन सहज भएको बताउदै योग सँग सम्बन्धित कुनै कार्यक्रम वा शिविरमा सहभागी हुन आफु सदैव तत्पर रहँदै आएको उनले बताए । यसरी वैकल्पिक चिकित्सा मार्फत नसर्ने रोग लाई नियन्त्रण तथा रोकथाम गर्न ७ दिने पंचकर्म तथा प्राकृतिक चिकित्सा शिविरको पहिले पटक परिक्षण चरणकै रुपमा सुरु गरिएको नगर आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मनराका प्रमुख संजय कुमार यादवले बताए ।
शिविरमा जलनेती,योगा अभ्यास,माटोपट्टी,अकुप्रेसर अभ्यास,शरिरमा तेल मालिस,बवन,बस्ती,बाफ स्नान जस्ता पंचकर्म तथा प्राकृतिक चिकित्साको अभ्यास गराउने गरेको नगर आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मनराका प्रमुख संजय कुमार यादवले जानकारी दिएका छन । मनराशिस्वा नगरपालिकाका सहायक प्राकृतिक चिकित्सक मनिष महतोले सहभागीहरुलाई पेटको विषाक्तता हटाउनका लागि करेला,गोलभेडा,क्राक्रो,एलोवेरा लगायतका जुस सेवन गराइने जनाएका छन ।

त्यसैगरी शिविरको चौथो दिनमा सहभागीहरुलाई पूर्ण शारिरिक माटो स्नान समेत गराइएको बताउदै माटो स्नान गर्नाले शरिरको विषाक्त नष्ट गरेसँगै यसले छालाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ तथा दर्दनिवारण,रक्त प्रवाहमा सुधार र तनाव न्युनिकरण गर्न सहयोगी रहेकोे सहायक प्राकृतिक चिकित्सक मनिष महतोले जनाएका छन ।

स्वास्थ्यको विकार हटाउन योग अभ्यास लाभदायक हो योगा सिकेर घरमै अभ्यास गर्न सजिलो पनि हुन्छ पालिकाकाले आधुनिक तथा वैकल्पिक दुवै चिकित्सा पद्धतिलाई सुदृढ गर्न र नागरिकमा योग र प्राकृतिक चिकित्सा प्रति जागरुकता ल्याउन यस्ता शिविरहरु लाई आउने दिनमा अझ प्रभावकारी रुपमा अघि बढाउने मनराशिस्वा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेयले बताए ।




