बर्दिबास। शिफ्ट अभियानअन्तर्गत युवा अभियन्ताहरुले मंगलबार बर्दिबासको भोला वसन्त चौकमा बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक प्रदर्शन कार्यक्रम आयोजना गरेका छन् ।
सडक नाटक प्रदर्शनमा युवा, विद्यार्थी, बुद्धिजीवी, सरोकारवालाहरू, अभिभावक, शिक्षक, जनप्रतिनिधि लगायतको सहभागिता थियो । बाल विवाहबाट व्यक्ति, परिवार, समाजमा पारिरहेको नकारात्मक असर र बालविवाह रोकथामका लागि समुदायको भुमिका बारे सडक नाटकमार्फत सचेतना फैलाउने प्रयास गरिएको थियो । स्थानीय युवाहरूद्वारा प्रदर्शित उक्त सन्देशमूलक सडक नाटक हेर्न स्थानीयवासी झुम्मिएका थिए ।

अभियान बर्दिबासस्थित युवा अभियन्ताहरूको समूह युथ फर चेन्ज ले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको हो।अभियानले मधेश प्रदेशमा बालविवाह अन्त्य गर्नको लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएको छ। सेभ द चिल्ड्रेनद्वारा सञ्चालित शिफ्ट अभियानले युवाहरूलाई सामाजिक वा वातावरणीय परिवर्तनका लागि सार्वजनिक अभियान डिजाइन र सञ्चालन गर्न सहयोग गर्दछ।

अशिक्षा र चेतना अभावको कारण समाजमा हुने बालविवाहको कारण स्वास्थ्य, घरपरिवार तथा समाजमा पर्ने असर न्यूनीकरण गर्ने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको आयोजक संस्था युथ फर चेन्जका युवा अभियन्ता मनिषले बताए । सडक नाटक प्रदर्शन हेरिसकेपछि मधेश प्रदेश सभा सदस्य एवम् बालअधिकारका लागि ससदीय मञ्चका सयोजक शारदादेवी थापाले समाजमा भइरहेका बालविवाहबाट पर्ने नकारात्मक असरबारे कसैले ध्यान नदिँदा विभिन्न हिंसाका घटनाहरु भइरहेकोले यस प्रकारका कार्यक्रमले सचेतना अभिवृद्धि गर्न मद्दत पुगेको बताउँदै भन्नुभयो " सरकार र गैरसरकारी संघसंस्था सबैको सामूहिक प्रयत्नबाट मात्र यसको अन्त्य सम्भब छ र युवाहरुको नेतृत्वमा नै यस्तो प्रभावकारी अभियान सञ्चालन हुनु महत्वपूर्ण र अनुकरणीय छ।"
विसं २०७८ को जनगणनाअनुसार नेपालमा करिब ३० प्रतिशत बालबालिकाको विवाह २० वर्ष उमेर नपुग्दै भइरहेको छ । सोही जनगणनाअनुसार मधेसमा सबैभन्दा बढी अर्थात् ३७ दशमलव तीन प्रतिशतले औसतमा १८ वर्षअगावै विवाह गर्छन्। त्यसमध्ये ५२ दशमलव दुई प्रतिशत बालिका र १९ प्रतिशत बालक छन् । जबकि राष्ट्रियरूपमा उमेर नपुग्दै विवाह गर्ने २९ दशमलव सात प्रतिशतमध्ये बालिकाको हिस्सा ४१ दशमलव एक र बालकको हिस्सा १५ दशमलव चार प्रतिशत रहेको छ ।
बहुआयामिक सूचक क्लस्टर सर्भे २०१९ अनुसार मधेसमा कुल जनसङ्ख्याको आठ दशमलव नौ प्रतिशत बालबालिकाले १५ वर्ष नपुग्दै विवाह गर्छन् । यसमा पनि बालकको प्रतिशत दुई दशमलव एक छ भने बालिकाको १४ दशमलव दुई प्रतिशत छ । सोही अध्ययनअनुसार १८ वर्षअगावै विवाह गर्ने २९ दशमलव तीन प्रतिशतमध्ये ४६ प्रतिशत बालिका र सात दशमलव आठ प्रतिशत बालक रहेका छन् ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले नै २०–२४ वर्ष उमेर समूहका विवाहित जनसङ्ख्यामध्ये राष्ट्रियरूपमा २९ प्रतिशतको विवाह १८ वर्षअगाडि नै भएको देखाएको छ । मधेसमा भने यो सङ्ख्या ३५ प्रतिशत छ । देशभर यो उमेर समूहका १६ प्रतिशत पुरुष र ३५ प्रतिशत महिलाले १८ वर्षअगावै विवाह गर्ने गरेकामा मधेसमा भने यो प्रतिशत पुरुषको १७ र महिलाको ४२ छ ।
बालविवाहको अवस्था विकराल हुँदै गएपछि मधेस प्रदेश सरकारले सन् २०३० सम्म प्रदेशलाई बालविवाह मुक्त बनाउन १० वर्षे प्रादेशिक रणनीतिक योजना २०७८ ल्याएको छ। त्यसैगरी प्रदेश बालअधिकार ऐन २०७७, सारभूत लैंगिक समानता नीति २०७८, बाल सहभागितासम्बन्धी कार्यविधि २०७८, बालिका सशक्तिकरण तथा सरक्षण ऐन २०८१ र बेटी बचाउ, बेटी पढाउ अभियानमार्फत बालअधिकार सरक्षण तथा बालविवाह न्यूनीकरणमा कार्य गर्दै आएकोछ ।
विसं २०७८ को राष्ट्रिय जनगणनाले १० देखि १७ वर्ष उमेर समूहका ७४,२७२ बालबालिकाको विवाह भइसकेको देखाएको छ । जसमध्ये १६,३४७ बालविवाहका घटना मधेश प्रदेशका देखिएका थिए, जुन राष्ट्रिय कुलको पाँच भागको एक भन्दा धेरै हो । मधेशमा ४२.४ प्रतिशत महिलाहरू १८ वर्षभन्दा अघि नै विवाह गर्छन्, जबकि राष्ट्रिय औसत ३३ प्रतिशत मात्र छ । महोत्तरीमा यो दर ४३.३ प्रतिशत पुगेको छ । तथ्याङ्कअनुसार, मधेशमा हरेक पाँचमध्ये एक किशोरीले किशोरावस्थामै गर्भधारण गर्ने गर्छन् । बालविवाहविरुद्धको अभियानको नेतृत्व गरिरहेको बर्दिबास नगरपालिकाले हालसम्म १४ मध्ये ९ वटा वडालाइ बालविवाहमुक्त वडा घोषणा गरिसकेको छ र चालू आवमा नगरलाइ नै बालविवाहमुक्त पालिका घोषणा गर्ने लक्ष्य लिएको छ ।




