
महोत्तरी। महोत्तरीको गौशालानगरपालिकामा गुणस्तरहीन कालोपत्रे सडक निर्माण भएपछि स्थानिहरुले काम गर्न अवरुद्ध गरेका छन् । गौशला नगरपालिका ५ हुन लागेको कालोपत्रे स्थानियले रोकका छन् ।
गौशालाको निगौलचौकदेखि पश्चिम मरहानदीको पुलसम्म निर्माण गरिएको सडकखण्डमा भएको कालोपत्रे १२ घण्टा नवित्दै उप्किन थालेपछि स्थानियहरुले आज विहानैदेखि निर्माण कार्य गर्न अवरोध गरेका हुन् ।
मंगलवार दिउँसो स्थानियहरुले गुणस्तरहीन तवरले सडक निर्माण भईरहेको सुईको पाएपछि निर्माणका लागि सामग्रीसहित आएका प्राविधीकहरुलाई गुणस्तरयुक्त सडक निर्माणको माग गर्दै अवरोध गरेका थिए ।
१ हजार मिटर लम्बाई र ६ मिटर चौडाई को सो सडकमा रातारात विना मापदण्ड कै माटो मै कालोपत्रे गरिएको छ । गएराति सिमसिमे बर्षा भईरहेको समयमा ठेकेदारका मानिसहरुले रातारात कालोपत्रे गर्न भ्याएका थिए । विना लेभल मिलाएर पानी परिरहेको समयमै रातारात कालोपत्रे गर्नु विडम्बना रहेको स्थानिय बद्री ठाकुरले बताए ।
नयाँ सडक निर्माण गर्ने क्रममा डाईभर्सन गर्नुपर्ने, बेसको वरिपरि कम्तीमा २ फिटसम्म ग्राभेल हालेर मात्र सडक कालोपत्रे हुनुपर्ने भएतापनि त्यस्तो नभएकोले अब पुननिर्माण गर्नुपर्ने ठाकुरले माग गरे । ५ ईन्च मोटाई हुनुपर्ने सो सडक निर्माणको क्रममा मुश्किलले २ देखि ३ ईन्चसम्म मोटाई सडक निर्माण गर्दै आएको स्थानिय लक्ष्मण महतोले बताए ।
सिमसिमे बर्षाको समयमा रातारात सडक निर्माण गर्न लागेपछि आफुहरु गुणस्तरीय सडक निर्माण हुुनुपर्ने अडान सहित तत्कालको लागि सडक निर्माणमा रोक लगाएको महतोले जनाए ।
माटो हिलोमा सडक निर्माण भएपछि धेरैदिनसम्म टिकाउ नहुने भएकोले सडक अधिक दिन टिकाउ नहुने महतोको तर्क रहेको छ ।
ठाँउको अभावको कारण आफुहरुले डाईभर्सन गर्न असमर्थ रहेको कम्पनीको तर्फबाट रेखदेखमा खटिएको दिपनारायण महतोले स्वीकार गरे ।
यस सम्बन्धमा सडक डिभिजन कार्यालय जनकपुरका ईन्जिनियर ध्रुव नारायण पाण्डेले नियमविपरीत एवं गुणस्तरहीन तवरले निर्माण गरिएको कालोपत्रे मान्य बताए । पाण्डेले भने, ‘हातले नै उप्काउदा उप्किने खवर पाएपछि स्थानियहरुले रोकेको खबर पाएका छौ । गुणस्तरहीन तवरले काम भएको पाईएको खण्डमा सो खण्डको सडक पुननिर्माण गरेपछि मात्र सडक निर्माणले पुणर्ता पाउने छ।’
सडक डिभिजन कार्यालय जनकपुरधामको ८० लाखको लागतमा निर्माण हुने सो सडक सर्लाही स्थित तिरुपति वालाजी कन्ट्रक्शनले टेण्डर प्रक्रिया मार्फत सो सडक निर्माण गर्ने ठेक्का पाएका हुन् । स्थानीयहरुले पुलचौकमा निर्माण कार्यमा अवरोध गरे पछि त्यहाँ छोडी फेरी निगौलचौकमा गएर हिलोमा नै निर्माण कार्य यथावत राखेको भए पनि सरोकारवाला चुप लाग्नु कतै न कतै यसमा मिलिभगत भएको स्थानीयहरुको भनाई रहेकोछ ।
यस अघि पनि केही दिन यसरी नै मापदण्ड विपरीत सडक निर्माण कार्य हुँदा स्थानीयहरुद्वारा निर्माण कार्य अवरुद्ध बनाएका थिए ।
संघीय सरकारको वजेट मार्फत निर्माण हुने उक्त सडकखण्ड विविध कारणवश अवरुद्ध हुँदै आएको छ । सो सडकखण्डमा सडक डिभिजन कार्यालय मुजेलियाका सहायक ईन्जिनियर बृज किशोर गिरी, निर्माण व्यवसायी जगदिस यादव लगायतका टोलीले अनुगमन गरि विगतमा भएको कमी कमजोरीलाई मनन गर्दै पुणर्रुपमा गुणस्तरीय सडक निर्माण गर्ने प्रतिवद्धता जनाए पनि अहिले निर्माण कार्यमा केही सुधार नभएको कारण स्थानीयहरुले निर्माण कार्यमा रोक लगाएका छन्।




