
जनकपुरधाम- धनुषा जिल्लाको कमला नगरपालिकाको छैटौँ नगर सभाबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सहितको बजेट पारित गरेको छ ।
दुई पक्षका बीचमा विवाद भएका कारणले चालु आर्थिक वर्ष शुरु भएको करिब ७ महिना बित्न लाग्दा नगर सभाले बजेट पारित गरेको छ । कमला नगरपालिकाको बजेट पारित नभएका कारणले सो पालिकाका कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीहरुले तलब भत्ता पाउनबाट वञ्चित भएका थिए । यसका साथै विकास निर्माणको कामकाज पनि बन्द नै रहेका थिए ।
दुवै पक्षका बीचमा सहमति भएपछि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट पारित गरेको नगरपालिकाका नगरप्रमुख विश्वेश्वर यादवले जानकारी दिनु भएको छ । चालु आर्थिक वर्षका लागि कमला नगरपालिकाले ५५ करोड, ४५ लाख ४१ हजार ८ सय ७४ रुपैयाँको बजेट पारित गरेको छ ।
नगरपालिकाले ९ वटा वडामा ९५ लाखको दरले विकास बजेट विनियोजन गरेको छ । यसका साथै वडा सञ्चालनका लागि ५ लाख गरेर प्रत्येक वडामा १ करोडको दरले बजेट विनियोजन गरेर सर्वसम्मतिले बजेट पारित गरेको छ । पारित भएका बजेटमा शिक्षा तर्फ १ करोड २२ ला तथा स्वास्थ्य तर्फ ८० लाख विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।
अध्यक्षको आसनबाट बोल्दै नगरपालिकाका नगरप्रमुख विषेश्वर यादवले ढिलो गरि बजेट पारित भएपनि आर्थिक वर्ष सम्पन्न हुन बाँकी रहेको अवधिमा तीव्र रुपमा विकास निर्माणको कामलाई अगाडी बढाउनका लागि कर्मचारीहरूलाई निर्देशन दिनु भएको छ ।
नगरपालिकाले नगरको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधारको विकासमा विशेष जोड दिइएको छ । धनुषा जिल्लाको सबैभन्दा पूर्वी क्षेत्रमा पर्ने कमला नगरपालिकाका पालिकाहरूलाई कमला नदीले प्रभावित गर्ने गरेका कारणले त्यसको विषयमा पनि छलफल भएको छ ।