महोत्तरी- दसैँ र तिहार सकिएसँगै तराई–मधेशमा लोकआस्थाको महापर्व छठको रौनक बढेको छ। छठ पर्व नजिकिएसँगै महोत्तरीको औरही नगरपालिका–१ स्थित औरही बजारमा फलफूल,तरकारी तथा पूजासामग्री खरिद गर्नेको चहलपहल बढेको हो।
बजारमा छठ पूजाका लागि आवश्यक केरा, नरिवल, स्याउ, सुन्तला, उखु, सखरखण्ड, मुला, अदुवा र बेसारलगायत फलफूल तथा कन्दमूलको किनमेल बढेको छ। त्यसैगरी बाँसबाट बनेका सुप, नाङ्लो, डालो र टोकरीका साथै माटोका हात्ती, दियो, अगरबत्ती र धूपलगायत पूजासामग्रीको मागसमेत बढेको स्थानीय व्यापारीले बताएका छन्।



छठ पर्वमा व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी सूर्यदेव र छठी माताको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ। यस अवसरमा परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको सुख र दीर्घायुको कामना गरिन्छ।
तराई–मधेशमा विशेष श्रद्धा, भक्ति र उल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा समेत उत्साहपूर्वक मनाउन थालिएको छ। पर्व नजिकिएसँगै बजारमा बढेको चहलपहलले स्थानीय व्यापार व्यवसायसमेत चलायमान बनेको छ।


















