
जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नंं २ मा कोरोनाको सङ्क्रमणको जोखिम उच्च भएकाले जनसङ्ख्याको अनुपातमा कोरोना विरुद्धको खोप आपूर्तिका लागि आग्रह गरेका छन् । आज विहिवार जनकपुरधामा कोभिड-१९ संक्रमणको व्यवस्थापन गर्नका लागि गठन भएको केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका स्तरको निर्देशन समितिको संयुक्त बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ मा जनघनत्व अत्यधिक भएको, स्वास्थ्यका संरचना एवं सुविधा कमजोर रहेको हुँदा जनसंख्याको अनुपातमा कोरोना विरुद्धको खोप आपूर्ति हुनु पर्ने धारणा व्यक्त गरे । मुख्यमन्त्री राउतले प्रदेश २ को सबै जिल्लामा खुल्ला सिमाना भएका कारणले कोरोनाको तेस्रो लहर आउने जोखिम कायमै रहेको हुँदा जनताको जीवन रक्षाका लागि खोपको आपूर्ति तथा जनचेतना फैलाउने कार्यमा तीनै तहका सरकारका बीचमा अधिकतम सहकार्य गर्न जरुरी रहेको बताए । मुख्यमन्त्री राउतले प्रदेश सरकारले जनताको जीवन रक्षा गर्नका लागि कुनै प्रकारको कसर बाँकी नराख्ने बताउँदै विगतमा कोरोना फैलिदा केन्द्रबाट भएको कमी कमजोरी अनुभवी तथा योग्य व्यक्तिको रुपमा रहनु भएको बालानन्द शर्मा नेतृत्वमा बनेको निर्देशन समितिबाट अब भेदभाव नहुने आशा व्यक्त गरे । उनले प्रदेश सरकारले कोरोनाको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको बताउँदै अहिले ८ वटै जिल्लाहरूमा पिसिआर ल्याव जडान गरेर परीक्षण तथा उपचारको लागि अस्पतालको निर्माणमा जोड दिएको बताए । केन्द्रीय निर्देशन समितिका कार्यकारी निर्देशक बालानन्द शर्माले कोरोनाको नियन्त्रण गर्दै जनताको जनजीवन तथा आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नका लागि स्मार्ट लकडाउनको नीति सरकारले बनाएको बताए । उनले कोरोनाको चार वटा चरण गरेर स्मार्ट लक डाउनको दायरामा आफै आउने व्यवस्था रहेको र स्मार्ट लकडाउन नेपालले आफ्नै अनुभवको आधारमा बनाएको बताए । कार्यक्रममा प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले प्रदेश २ मा हालसम्म १२ प्रतिशत जनतालाई कोरोना विरुद्धको खोप प्रदान गरेको, असोजसम्ममा ३३ प्रतिशत तथा चैत्रसम्ममा शत प्रतिशत जनतामा खोप लगाउने पक्षमा सरकार रहेकाले कोरोना विरुद्धको खोप आपूर्तिमा तीव्रताका दिनका लागि आग्रह गरे। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले धनुषामा कोरोनाको नियन्त्रणका लागि गरेको प्रयास, अक्सिजन उत्पादन गर्ने कारखाना तथा निजी क्षेत्रका अस्पतालहरूसँग गरेको सहकार्यका कारणले अहिले नियन्त्रणको अवस्थामा रहे पनि जोखिम यथावत् रहेको बताए । बैठकमा केन्द्रीय निर्देशन समितिका पदाधिकारीहरू, प्रदेशका पदाधिकारीहरू, पालिकाका पदाधिकारीहरू, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरू, प्रादेशिक अस्पताल, प्रादेशिक प्रयोगशालाका प्रमुख एवं पदाधिकारीहरू, प्रदेश नंं २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह सहितका व्यक्तिहरू उपस्थित रहेका थिए ।