
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले प्रदेश २ प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेको छ। उहाँ युगपुरुष रामनारायण मिश्रका छोरा हुनुहुन्छ। कसैलाई लाग्न सक्छ–प्रदेश प्रमुखको चर्चा गर्दा उहाँको बुबाको चर्चा किन गर्नुपर्यो? तर नवनियुक्त प्रदेश प्रमुखको चर्चा गर्नासाथ उहाँका पिताको चर्चा गर्न केही संयोगले निर्देश गर्दछ। त्यो के हो भने प्रजातन्त्रका लागि लड्नु भएका रामनारायण मिश्रका छोरा आज संघिय गणतान्त्रिक नेपालमा प्रदेश २ का अभिभावकको जिम्मा पाउनु आफैँमा स्मरणयोग्य छ।
देश संघीयतामा गइसकेपश्चात प्रदेश सरकार सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधारको रुपमा जनकपुर चुरोट कारखानालाई मधेश भवन नामाकरण गरी त्यहीँबाट अहिले प्रदेश सरकार सञ्चालनमा छ। प्रदेश प्रमुखको कार्यालय र निवाससमेत मधेश भवनभित्र नै अवस्थित छ। विपी कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री रहेका बेला रामनारायण मिश्रकै पहलमा जनकपुरमा जनकपुर चुरोट कारखाना स्थापना भएको थियो। र, आज उहाँकै छोरा प्रदेश प्रमुखको हैसियतमा सोही भवनमा प्रवेश गर्दै हुनुहुन्छ।
प्रदेश प्रमुखजस्तो पदको चर्चा हुनासाथ त्यस्ता व्यक्तिको स्मरण आउँछ जसलाई संविधानको मुलमर्मप्रति श्रद्धा होस्। संविधानको उच्च कदर गर्दै आफ्नो क्षेत्राधिकारको दायरामा रही पदीय जिम्मेवारी बहन गर्न सक्ने इच्छा शक्ति होस्। प्रदेश प्रमुख मिश्र २०४८ सालमा प्रतिनिधि सभामा सांसदमा निर्वाचित हुनुभएको थियो । उहाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत हुनुभएको थियो । बुवा रामनारायण मिश्र जेलमा परेपछि हरिशंकर मिश्रजीले २०१९ सालबाट राजनीति आरम्भ गर्नुभएको थियो।
उहाँको पारिवारिक विरासत र प्रजातन्त्रको लडाइँदेखि गणतन्त्रको यात्रासम्म आइपुग्दा उहाँको लोकतन्त्रप्रतिको आस्था र संघर्षको यात्राको मुल्याङ्कन गरेर नै होला वर्तमान गठवन्धन सरकारले उहाँलाई प्रदेश प्रमुखजस्तो गरिमामय एवं संवेदनशील पदका लागि सिफारिस गरेको हुनुपर्छ।
हुन त प्रदेशको स्थापनादेखि अहिलेसम्म प्रदेश २ का प्रमुख चौथोपटक फेरिएका छन्। यसरी प्रदेश प्रमुख फेरिनु कति उचित, कति अनुचित भनी राजनीतिक दृष्टिकोणले कठोर समीक्षा गर्न सकिने आधारहरु छन्। तर निवर्तमान प्रदेश प्रमुख राजेश झालाई सम्भवतः बिदा गर्नुपर्ने दुरगामी विश्लेषण गरिएको हुनुपर्छ।
प्रदेश प्रमुखको इतिहासमा झा ले एउटा ‘पपुलिस्ट प्रेसिडेन्ट’ स्थापित गर्न आक्रामकता देखाउनु हुन्थ्यो । र, त्यो सही थियो वा गलत त्यसबारे समयले समीक्षा गर्छ नै । तर एउटा संबैधानिक पद धारण गरेका व्यक्तिमा कुनै दल विशेषका अमुक नेताको बेमौसमी मुद्दाहरुमा खुलेर लाग्दा उहाँले प्रदेश प्रमुख जस्तो पदको मानमर्दन गर्नसम्म भ्याउनुभयो।
केपी शर्मा ओलीले कोरोना महामारीका बेला राम जन्मभूमि अयोध्यामा नभइ ठोरीमा छ भनी ‘सनक’ देखाउनुभएको थियो। जसरी भए पनि ठोरीमा राम मंदिर ठड्याउने ओलीको कृत्रिम उत्सवका सक्रिय सहभागी पात्रको रुपमा आफूलाई प्रस्तुत गर्दै जनकपुरबाट लावालस्करका साथ चितवन पुग्नुभएको थियो, राजेश झाजी । उहाँको पहिरन हेर्दा उहाँ मधेश भवनको मुखिया होइन, बिहारकुण्डका मठाधिस झैँ देखिनुहुन्थ्यो । हुन त देशमा हिन्दुवादी हावा चलेको बेला लोकप्रियता हासिल गर्ने उहाँको ध्येय देख्नलायक हुन्थ्यो।
कतिले उहाँका यस्ता आचरणलाई उहाँको व्यक्तिगत जीवन हो भनी खासै ध्यानसमेत दिएनन्। तर संबैधानिक पदमा विराजमान भइसकेपश्चात त्यस्ता व्यक्तिले आफैँमा एउटा संस्थाको आकार लिन्छ। उसको जीवनशैलीले समेत राजनीतिक महत्वलाई झल्काउने गर्छन । आफ्नो कार्यालयमा बिस्तारवादीको आरोप लाग्दै आएको एउटा राजाको फोटो झुण्ड्याएर आफ्ना नियतिहरु प्रस्तुत गर्नुहुन्थ्यो। उहाँका गतिविधिलाई नियाल्दा समग्रतामा यति भन्न सकिन्छ कि प्रदेश प्रमुखजस्तो पदको गरिमाको ख्याल गर्नसक्ने परिपक्वताको कमी थियो उहाँमा।
सम्भवतः वर्तमान गठबंधन सरकारले रामशंकर मिश्रजीको राजनीतिक अनुभव, लोकतन्त्र र त्यसका मानकहरुको रक्षा गर्न सक्ने ल्याकत भएका व्यक्तित्वको मुल्याङ्कन गरी प्रदेश २ को प्रमुखमा सिफारिस गरेको हुनुपर्छ। विदितै छ, वर्तमान गठवन्धनको एउटा प्रमुख घटक जनता समाजवादी पार्टी पनि हो र यसले हरिशंकर मिश्रजीप्रतिको स्विकार्यतालाई समेत दर्शाउँछ ।
राजनीतिक अनुभवका धनी रामशंकरजीलाई अब नेपाली नागरिकले संबिधानको धारालाई टेकेर गर्ने उहाँका हरेक कदमको समीक्षा गर्नेछन्। र संबिधान कुनै दलको नभएझैँ उहाँ पनि प्रदेश २ को शासकीय व्यवस्थाको प्रमुख हुनुभएको छ । उहाँको हरेक कदम संवैधानिक र मर्यादित हुनुपर्छ।
नेपालमा प्रजातन्त्रका लागि भएको कठोर आन्दोलनको थालनीकर्ता जननायक बीपी कोइरालासँगै सम्झिने अग्रपंक्तिका नाम मध्येका एक हुनुहुन्थ्यो रामनारायण मिश्र । उहाँबारे महेन्द्रकुमार मिश्रजीले एउटा संकलन संग्रह सम्पादन गर्नुभएको छ– ‘युगपुरुष रामनारायण मिश्रः स्मृति ग्रन्थ’ । उक्त पुस्तकमा चिन्तक एवम नेपाली कांगे्रसका नेता प्रदीप गिरी लेख्नुहुन्छ, ‘०२५÷०२६ सालमा उहाँ (प्रदिप गिरीजी) किशुनजीका साथ नख्खु जेलमा रह्नु भएको रहेछ। एकदिन नख्खु जेलमा किशुनजीसँग रामनरायणजीबारे कुरा चल्यो । गिरीले उहाँलाई भेंटेको संस्मरण सुनाए। अनि किशुनजीले रामनरायणजीका कुरा सुनाउँदै भन्नुभयो म (किशुनजी) र रामनारायण मिश्र एउटै जेलमा हुँदा उक्त जेलको हाकिम आर्मीका मेजर हुन्थे । तिनीहरुसंग बन्दीहरुको कचमच परिरहन्थ्यो । कचमच पर्दा जहिल्यै पनि रामनारायणबाबु अघि सर्नु हुन्थ्यो । उहाँ कुर्लिदै भन्नुहुन्थ्यो मेजर (वा जोसुकै) लाई, ‘क्या तुम जानते हो, किस से बात कर रहे हो ? सम्हल के बात करो । तुम सुब्बा सत्यनारायण मिश्रा के पोता से बात कर रहे हो।’ अनि किशुनजी खिस्स हाँस्नु हुन्थ्यो… । किशुनजीको अभिप्राय स्पस्ट हुन्थ्यो । रामनरायणजी सुब्बाको नाति, उहाँले हप्काउने मान्छे कमसे कम मेजर हुन्थे । अब मेजर र सुब्बामा को ठूलो ? निहितार्थ स्पष्ट नै थियो । प्रदिप गिरीजीका अनुसार मन्त्री भइसकेका रामनारायण, प्रधानमन्त्री बिपी कोइराला र सभामुख किशुनजीका खास सहयोगी सखा हुनुहुन्थ्यो । तर उहाँलाई आफ्नो बाजेको ‘अस्मिता’ ज्यादा महत्वपूर्ण थियो।
हो, वर्तमान शेरबहादुर देउवा नेतृत्वमा बनेको गठबन्धन सरकारले रामनारायण बाबुको बिरासतलाई सम्मान अर्पित गर्न समेत उहाँ आफैले २०१६ सालमा बिपी कोइरालाको नेतृत्वमा गठित नेपाली कांगे्रसको सरकारमा उद्योग तथा वाणिज्यमन्त्री बन्नुभएका बेला नेपालमा वास्तविक समाजवाद झल्किने गरी स्थापना गर्नु भएको तत्कालीन चुरोट कारखाना जुन अहिले मधेश भवनको स्वरुप लिएको छ, त्यसमा उनैका छोरा प्रदेश प्रमुख बनेर आउनु सुखद संयोग हुनसक्छ। साथै, हरिशंकर मिश्रजीले उहाँका बुवाले जसरी आफ्ना बाजेको अस्मितालाई अधिक महत्व दिनुभएको थियो, रामनारायण बाबुको अस्मिताको ख्याल गर्दै संबैधानिक व्यवस्थाको सम्मान गर्दै आफ्ना कदम अगाडि बढाउनुहोला भन्नेमा विश्वास गर्न सकिन्छ । कुनै पनि व्यक्तिले आफ्नो अस्मितालाई आत्मसात गरी आफ्नो यात्रा बढाउँदा त्यस्ता यात्रामा कर्तव्यनिष्ठता, इमान्दारिता, पारदर्शिता, सदाचारिता जस्ता अवयवले उत्प्रेरकको भूमिका खेलिरहेको हुन्छ । बधाइ तथा शुभकामना, प्रदेश प्रमुखज्यू।