
जनकपुरधाम- प्रदेश २ का पदमुक्त प्रदेश प्रमुख बुधबार बिहान नीजि निवासबाट विदाई भएका छन् । विदाई हुनु अघि उनी पत्रकार सम्मेलन गरेर आफ्नो कार्यकालको उपलब्धी नै सार्वजनिक गरे । प्रदेश प्रमुख कार्यकारिणी पद नरहेपनि उनले उपलब्धीको बहानामा राज्यको सुविधा नलिने घोषणा गर्न भ्याए । जाँदाजाँदै पत्रकारहरुलाई बोलाएर राज्यबाट पाउने सेवा सुविधा नलिने भनेर ‘जस’ लिन खोजेको सत्ताधारी दलले आरोप लगाए । ६ महिने कार्यकालमा उनी दिनैपिच्छे सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुँदै आएका थिए । राज्यको ढुकुटी रित्याउँदै उनले लस्कर लिएरै कार्यक्रमहरुमा सहभागी हुने गरेका थिए । उनी नीजि सचिवालयमा आधा दर्जन बढी सवारीसाधन प्रयोग गर्दै आएका थिए ।
बुधबार बिहान नीजि सवारी आफै चलाएर मधेश भवनबाट निक्लेपनि अगाडी गएर चालकले चलाएको थियो । उनी पदमुक्त भइसकेपछि राज्यको सेवासुविधा नलिएको सन्देश दिन नीजि सवारीमा चढेर बाहिरिए । उनी मधेश भवनबाट बाहिरिदा काठमाण्डु स्थित अपार्टमेन्टमा दुई वटा विलासी गाडी‘स्टैण्डवाई’ थिए । प्रदेश–२–०२–००१झ ०११५ नम्बर र बा१झ ९९९७ नम्बरको गाडी राज्यले उपलब्ध गराएको अपार्टमेन्टमा उनको प्रतिक्षामा छन् । प्रदेश–२–०२–००१झ ०११५ नम्बरको गाडी वीरगञ्ज स्थित भन्सार कार्यालयबाट प्राप्त गरेका थिए । यस्तै उनले प्रदेश २–०२– ००१झ १२ नम्बरको स्र्कोपियो गाडी प्रदेश सभाबाट तानेका थिए ।
प्रदेशसभाको गाडी फिर्ता गरेको प्रदेश २ का सभामुख सरोज कुमार यादवले बताए । हालै उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आँनटेष्ट पिकअपको पछुवा गाडी प्रयोगमा ल्याएका थिए । यसअघि महिन्द्राको पिकअप गाडी पछुवामा प्रयोग गर्दै आएका थिए । राज्यको सेवासुविधा नलिने बताउँदै आएपनि उनले यसअघिका प्रदेश प्रमुखहरुले प्रयोग गरेको गाडीहरु पनि उपयोग गरे । तत्कालीन प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रयोग गरेको प्राडोको टोयोटा र ज१झ ४५१ नम्बरको गाडी पनि झाले उपयोगमा ल्याएका थिए । सचिवालयका कर्मचारीहरुको लागि व्यवस्थापन गरिएको बा१झ १०११ नम्बरको टाटासुमो पनि झाले प्रयोग गरेका थिए । तत्कालीन प्रदेश प्रमुखले प्रयोग गरेको गाडीहरु पनि उनले काठमाण्डुमा प्रयोगमा ल्याएको श्रोतको दावी छ ।
प्रदेश प्रमुख झाले प्रयोग गरेको गाडीहरु सबै फिर्ता जनकपुर आइसकेको प्रदेश प्रमुख कार्यालयका उपसचिव होम घिमिरले जनाए । गएको फागुन ७ गते प्रदेश प्रमुखमा नियुक्त भएर आएका झाले लालबाबु नेतृत्व सरकार विरुद्धको गतिविधिलाई तिव्र पारेका थिए । उनले कर्मचारीहरुलाई नीजि निवासमा बोलाएर सरकार विरोधी गतिविधिमा संलग्न हुन निर्देशन गरेका थिए । सरकारलाई असहयोग गर्ने उद्येश्यले पटक पटक बखेडा खडा गर्दै आएका झा अघिल्लो पटक आवश्यक्ता भन्दा बढी सवारीसाधन प्रयोग गरेर राज्यको ढुकुटी दोहन गरेका छन् । सरकारको निर्णयमा हस्तक्षेप गरेर समावेशी सम्बन्धी गरेको पत्र मुख्यमन्त्रीको नीजि सचिवालयलाई तामेलीमा राखेका थिए ।