जनकपुरधाम।
आएल सावन मास झुला झुलु सरकार झुला झुलिलिये लाले फुलवरियामेअहिले जनकपुरधाम सहित सम्पूर्ण मिथिलाञ्चलमा यस्ता लोकगीत र लोक धुनसँगै झुला उत्सवको रौनक प्रत्येक मठमन्दिरमा छाइरहेको छ। प्रत्येक वर्ष साउन शुक्ल तृतीयादेखि मनाइने झुलनोत्सव पर्वको रमझम जनकपुरमा सुरु भएको छ।मिथिलाञ्चलमा कृषि रोपाइँ सकिने बितिकै झुला उत्सवको रौनक सुरु हुन्छ। यस क्रममा प्रत्येक मठमन्दिरमा कजरी र मलार जस्ता गीतको स्वर लहरी सुनिन्छ। गाउँले लोकजीवन एवं हावापानी र माटोसँग प्रत्यक्ष सम्बन्ध राख्ने झुला गीत सुनेर जो पनि हर्षले विभोर नहोला भन्न सकिन्न। झुलनोत्सव मैथिली संस्कृतिको मौलिक संस्कृतिको रुपमा रहेको छ। झुलनोत्सव पर्व मिथिलाञ्चल क्षेत्रका भारतको विहार राज्यको तिरहुत क्षेत्र, जनकपुरको जानकी मन्दिर, मटिहानीको लक्ष्मीनारायण मठ लगायत धनुषा, महोत्तरी, सर्लाही, सिरहा, रौतहट, सप्तरी, पर्सा, बारा जिल्लाको विभिन्न मठ मन्दिरमा एक महिनासम्म बडो धुमधामका साथ मनाइने धार्मिक परम्परा रहेको छ। झुलनोत्सवको अवसरमा प्रत्येक मठ मन्दिरमा मणिपर्वत पर्व हर्षोल्लासका साथ सम्पन्न गरिन्छ। सो पर्व सुरु हुनुभन्दा अगाडि मठ मन्दिरबाट लावालस्कर बाजागाजा तथा मंगलगानका साथ भव्य जुलुस निकाली पर्वको सुरुवात गर्ने गरिन्छ। मणिपर्वत पर्व भगवान् राम र सिताको शुभविवाह कै पालादेखि मनाइँदै आएको पण्डित इन्द्रकान्त झा शास्त्रीले बताए। झाका अनुसार झुला उत्सवको पहिलो दिनलाई मणिपर्वतको झुला भनिन्छ। उक्त दिन अपरान्ह जनकपुरधामका ५२ कुटीबाट डोलामा रामसीताका मूर्ति राखि रंगभूमिमा ल्याइएपछि जानकी मन्दिरका महन्तद्वारा उत्सवको शुरुवात गरिन्छ। मणिपर्वत झुला उत्सवका दिन जानकी मन्दिर, राममन्दिर र लक्ष्मण मन्दिरका मूर्तिलाई एकै ठाउँमा राखि झुलाउने गरिन्छ। यस दिन टाढा टाढाबाट श्रद्धालुहरु झुलामा आउने गरेका कारण रंगभूमिमा मेलाको रुप दृष्टिगौचर हुन्छ। झुला उत्सवको सुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको मानिन्छ। सन्तहरु खुला चौरमा अथवा कुनै रुखको छहारीमा बास बसे पनि आफ्नो झोलामा श्रद्धासाथ ल्याएका शालीग्रामलाई आसनमा राखि झुलाउने गर्दथे। सम्भवतः यो परम्परा त्यसैबेला देखि सुरुवात भएको विश्वास पाइन्छ। जनश्रुति अनुसार, सीताको माइतीमा दाईजोका रुपमा प्राप्त मणिहरु महलमा राख्ने ठाउँ नपाई बाहिर राख्दा पहाड नै भएको थियो। त्यसैको स्मृति स्वरुप झुला उत्सवको प्रारम्भमा रंगभूमिमा आज पनि मणिपर्वत मनाउने परम्परा रहेको छ। त्रेतायुगमा भगवान् राम र सीताको शुभ विवाहको उपलक्ष्यमा मिथिलाका विदेह राजा शिरध्वज जनकले आयोध्यावासीलाई उपहारस्वरुप दिएको सुनचाँदी तथा मणिको भार मिथिलाको राजधानी जनकपुरधामको रंगभूमि मैदानमा थुपारिएको रामायण तथा धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार यो पर्व प्राचीन समयदेखि आएको जनविश्वास छ। राधा, कृष्ण, सीता रामको मन्दिरमा पूजापाठ गरी भगवानका प्रतिमा डोलामा (पिङ झुला) मा राखेर झुल्याउने गरिन्छ। तसर्थ यसलाई झुलन अथवा झुला भनिन्छ। राम, सिता, राधा, कृष्णको सुखद संयोगको आभास यो लोकोत्सवमा हेर्न सकिन्छ। यो भक्तिभावले भरिपूर्ण लोकोत्सव भएकाले भक्तजनहरु र श्रद्धालुहरु रातभरि भजन कीर्तन र नाचगान गरेर यसलाई मनाउने गर्दछन्। मिथिलाञ्चलको मठ मन्दिरमा साउन महिनाभरि झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटी विधिवत् सम्पन्न गर्ने धार्मिक परम्परा रहेको कुरा धनुषा महेन्द्रनगरका पण्डित तथा शिक्षक लालबाबु झाले बताए । झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ। जोगी सन्यासीहरुले आफना आराध्य देवलाई झुलाउने परम्परा रहेको छ। वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रुपमा मनाइन्छ। जनकपुरधाममा भगवान रामसिता साउन महिनामा यसैगरी झुला झुलेको सम्झना गर्दै झुलनोत्सव मनाईने गरिन्छ। सांस्कृतिक परम्पराका रुपमा प्राचीन राजधानी जनकपुरधाम लगायत प्रायः अन्य मठ मन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ। यस अवधिमा झुलाका लागि सिंघासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता र राधाकृष्णका मूर्ति राखि झुलाउने परम्परा रहेको छ।