
नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको छ ।
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा.मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले क्रियाशील सदस्यतामा देखिएका विवाद समाधानतर्फ पुर्याएको बताइएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता सम्बन्धी काम सहमतिमै टुंग्याउने जिम्मेवारी सिटौला, रिजाल र लेखकलाई दिएको थियो । भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी पाएका सदस्यहरुले आज सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेका छन् ।
बारा, सप्तरी लगायत छ जिल्लामा क्रियाशील सदस्यता विवाद रहेको थियो । क्रियाशील सदस्यताका विवाद टुंगिएपछि सभापति देउवाले अध्ययन गर्ने र केन्द्रीय निर्वाचन समितिलाई अन्तिम नामावली बुझाएपछि निर्वाचनको प्रक्रिया शुरू हुनेछ ।