सर्लाही — रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि सर्लाहीको हरिपुरमा राहत सामग्री संकलन गरिएको छ।
भोटेकोशी बाढीपीडित सहयोगार्थ अभियान सञ्चालन गर्दै हरिपुरमा विभिन्न खाद्यान्न तथा आवश्यक सामग्री संकलन गरिएको समाजसेवी युवा रन्जित साहले जानकारी दिए।
बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने उद्देश्यले स्थानीयस्तरबाट सहयोग संकलन गरिएको साहले बताए। विपद्को समयमा पीडित परिवारलाई थोरै भए पनि राहत र सहयोग पुगोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उनको भनाइ छ।
साहका अनुसार अभियानमार्फत स्थानीयवासी तथा विभिन्न व्यक्तिहरूबाट खाद्यान्नलगायतका सामग्री सहयोगस्वरूप प्राप्त भएका छन्। संकलित राहत सामग्री सम्बन्धित बाढीपीडितसम्म पुर्याउने तयारी भइरहेको छ।
विपद्को समयमा भौगोलिक दूरीभन्दा मानवीय संवेदना महत्वपूर्ण हुने भन्दै साहले राहत अभियानमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले बाढीपीडितको सहयोगका लागि इच्छुक व्यक्ति तथा संघसंस्थालाई समेत आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन्।







