काठमाडौं - नेकपा (माओवादी केन्द्र) सहितका दलहरुले नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने भएको छ । शुक्रवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ८ दलको बैठकमा सो निर्णय भएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले बैठकमा राष्ट्रपतिको विषयमा मात्रै छलफल भएको बताए ।
उनले प्रधानमन्त्रीले नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने प्रस्ताव राखेको र सबै ८ दलले सहमति जनाएको बताए ।
‘एउटा विषयमा मात्रै छलफल भयो । प्रधानमन्त्रीले सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई सहयोग गरौँ भनेर प्रस्ताव गरे’ उनले भने, ‘त्यसमा ८ दलले नेपाली कांग्रेसको उम्मेदवारलाई यस पटकको राष्ट्रपतिको उम्मेदवारमा सहयोग गर्ने टुंगो लागेको छ ।’
बैठकमा उपस्थित कांग्रेस सहितका ८ दलहरुले नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिको उम्मेदवारमा सहयोग गर्ने सहमति भएको हो ।
बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी थिए।
कांग्रेसबाट यतिबेला दुई जनालाई उम्मेदवारको रुपमा चर्च गरिएको छ, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला। यद्यपि, चार दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको शुक्रबार बिहान बसेको बैठकले पौडेललाई उम्मेदवार बनाउने्बारे अनौपचारिक सहमति गरेको बताइएको छ।
प्रधानमन्त्रीले बोलाएको शुक्रबारको बैठक राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्ने एक मात्रै अजेन्डा रहेको ज्वालाको भनाइ छ। अन्य विषयमा पछि टुंगो लाग्ने उनले बताए।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ मा हुँदैछ। त्यसका लागि भोलि शनिबार उम्मेदवारी दर्ता हुँदैछ।